News Portal

  • बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापाले लिए शपथ

    दोलागिरि संवाददाता२०८३ भाद्र ४
    २९ पटक

    हेटौँडा — भक्तपुरबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य किरण थापाले बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथ ग्रहणपछि मुख्यमन्त्री थापाले आफूलाई विश्वास, साथ, शुभेच्छा र हौसला प्रदान गर्ने सम्पूर्ण राजनीतिक नेतृत्व, प्रदेशसभा सदस्य, नेता–कार्यकर्ता तथा बागमती प्रदेशवासीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।
    मुख्यमन्त्री थापाले शपथ ग्रहणको क्षणलाई आफ्ना लागि भावुक र ऐतिहासिक क्षण भएको बताउँदै आफूले एउटा पदको मात्र शपथ नलिएको, लाखौँ बागमती प्रदेशवासीका आशा, अपेक्षा र सपनाको जिम्मेवारीसमेत आफ्नो काँधमा आएको बताउनुभएको छ।
    उहाँले जनताको विश्वासलाई आफ्नो शक्ति र जनताको अपेक्षालाई मार्गदर्शन बनाएर सुशासनलाई व्यवहारमा, विकासलाई परिणाममा र सरकारलाई जनताको अनुभूतिमा रूपान्तरण गर्ने दृढ संकल्प व्यक्त गर्नुभएको छ।
    “बागमतीको समृद्धि कुनै भाषणको विषय होइन, हाम्रो साझा कर्म र देखिने परिणामको यात्रा हो,” मुख्यमन्त्री थापाले भन्नुभएको छ। उहाँले समयको सदुपयोग गर्दै इमानदारी, पारदर्शिता, उत्तरदायित्व र दृढ इच्छाशक्तिका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
    मुख्यमन्त्री थापाले प्रदेशवासीका सुझावलाई सम्मान, खबरदारीलाई मार्गदर्शन र जनताको साथलाई आफ्नो शक्ति मानेर कसैलाई पछि नछोडी सबैलाई साथमा लिएर समुन्नत, सुशासित, आत्मनिर्भर र गौरव गर्न लायक बागमती प्रदेश निर्माणको अभियान अघि बढाउने बताउनुभएको छ।
    उहाँले मुख्यमन्त्रीको पद आफ्ना लागि सम्मानभन्दा बढी जिम्मेवारी, अधिकारभन्दा बढी कर्तव्य र अवसरभन्दा बढी जनसेवाको संकल्प भएको उल्लेख गर्नुभएको छ।
    बागमती प्रदेशका हरेक नागरिकको सुख, सम्मान र समृद्धिलाई आफ्नो जिम्मेवारी ठान्दै मुख्यमन्त्री थापाले विश्वासलाई परिणाममा, आशालाई उपलब्धिमा र संकल्पलाई समृद्धिमा बदल्ने यात्रामा शपथ ग्रहणसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
    अन्त्यमा उहाँले सम्पूर्ण बागमती प्रदेशवासीप्रति पुनः हार्दिक धन्यवाद तथा नमन व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासलाई कहिल्यै निराश हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ।

    प्रतिकृया दिनुहोस्