News Portal

  • विचार चौतारी ८८ औँ शृङ्खला राहुल साङ्कृत्यायनको साहित्य, दर्शन र समकालीन सान्दर्भिकतामाथि विचार बहस

    दोलागिरि संवाददाता२०८३ साउन १७
    ३३ पटक

    काठमाडौं, श्रावण १७। प्रगतिशील लेखक सङ्घ, नेपालअन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा विचार चौतारी ८८ औँ शृङ्खला कार्यक्रम सम्पन्न भएको छ। राहुल साङ्कृत्यायन : साहित्य, दर्शन र समकालीन सान्दर्भिकता विषयक उक्त कार्यक्रममा राहुल साङ्कृत्यायनको साहित्यिक योगदान, वैज्ञानिक चिन्तन, दार्शनिक दृष्टि तथा समकालीन समाजमा उनका विचारको सान्दर्भिकताबारे गहन विमर्श गरिएको थियो।


    कार्यक्रममा प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, समालोचक मनोज भट्ट तथा अनुसन्धाता विधान आचार्य ले आ–आफ्नो विचार मन्तव्य प्रस्तुत गर्दै राहुल साङ्कृत्यायनलाई दक्षिण एसियाको प्रगतिशील वैचारिक आन्दोलनका अग्रणी चिन्तकका रूपमा व्याख्या गरे। वक्ताहरूले उनका साहित्य, इतिहास, दर्शन, यात्रा साहित्य, बौद्ध अध्ययन तथा वैज्ञानिक भौतिकवादी दृष्टिकोण आजको सामाजिक–राजनीतिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे।
    वक्ताहरूले समाजमा बढ्दो अन्धविश्वास, सांस्कृतिक विकृति, इतिहासको तोडमोड तथा वैचारिक अन्योलका बीच राहुल साङ्कृत्यायनका रचनाले वैज्ञानिक चेतना, मानवमुक्ति र प्रगतिशील सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण वैचारिक आधार प्रदान गर्ने बताए। कार्यक्रममा लेखक, साहित्यकार, अनुसन्धानकर्ता, बुद्धिजीवी  तथा विभिन्न प्रगतिशील सांस्कृतिक र बौद्धिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता वैचारिक विमर्शलाई निरन्तरता दिँदै समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा बहसको दायरा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

    प्रगतिशील लेखक सङ्घ, नेपालका कोषाध्यक्ष कृष्ण सुवेदीले निष्कर्ष मन्तव्य राख्दै महापण्डित राहुल साङ्कृत्यायनको साहित्यिक, दार्शनिक तथा वैचारिक योगदान दक्षिण एसियाली प्रगतिशील बौद्धिक परम्पराको अनुपम सम्पत्ति भएको उल्लेख गर्नुभयो। उहाँले राहुल साङ्कृत्यायनलाई केवल साहित्यकार वा यात्रा–लेखकका रूपमा मात्र नभई इतिहासकार, दार्शनिक, भाषाविद्, बौद्ध अध्येता, भौतिकवादी चिन्तक तथा जनचेतनाका अभियन्ताका रूपमा स्मरण गर्नुपर्ने बताउनुभयको थियो ।

    उहाँले राहुलका वोल्गादेखि गङ्गासम्म, भागो नहीं, दुनिया को बदलो, दर्शन-दिग्दर्शन, मेरी जीवन यात्रा लगायतका कृतिहरूले समाजलाई प्रगतिशील  सोच, विवेकपूर्ण दृष्टि, इतिहासप्रतिको आलोचनात्मक चेतना र सामाजिक रूपान्तरणको मार्गतर्फ उन्मुख गराउने महत्वपूर्ण वैचारिक आधार प्रदान गरेको धारणा व्यक्त गर्नुभयो।
    उहाँले अन्धविश्वास, रूढिवाद, सांस्कृतिक विकृति र इतिहासको तोडमोड बढिरहेको वर्तमान समयमा राहुल साङ्कृत्यायनका रचना र विचारहरूको अध्ययन, अनुसन्धान तथा व्यापक प्रचार–प्रसार अझ आवश्यक भएको बताउँदै प्रगतिशील लेखकहरूको दायित्व समाजमा वैज्ञानिक चेतना, मानवमुक्ति र प्रगतिशील संस्कृतिको विकासमा निरन्तर योगदान पुर्‍याउनु रहेको उल्लेख गर्नु भयको थियो ।

    बागबजारस्थित प्रलेस कार्यालयमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्रलेस उपाध्यक्ष डा. अमृता शर्माले गर्नु भयको थियो भने कार्यक्रम सहजकर्ताका रुपमा प्रलेस उपाध्यक्ष तथा परिसंमवाद विभाग प्रमुख समीर सहिँले गर्नु भयको थियो उक्त कार्यक्रमको आयोजना प्रगतिशील लेखक सङ्घ, नेपालअन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागले गरेको थियो।

    प्रतिकृया दिनुहोस्