News Portal

  • भक्तपुर अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि आक्रमण; चिकित्सक घाइते

    दोलागिरि संवाददाता२०८३ साउन १५
    ३८ पटक

    भक्तपुर, साउन १५ — भक्तपुर अस्पतालमा रक्सीको नशामा आएका केही व्यक्तिले तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। आक्रमणका क्रममा सिजर (कैंची) प्रहार हुँदा एक चिकित्सक घाइते भएका छन्।
    अस्पताल स्रोतका अनुसार आकस्मिक सेवामा उपचारका क्रममा आएका व्यक्तिहरूले अस्पतालको वातावरण अशान्त बनाउँदै स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए। घटनाका क्रममा एक चिकित्सकमाथि सिजर प्रहार हुँदा उनी घाइते भएका हुन्। घाइते चिकित्सकको उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
    घटनाको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी अस्पतालको अवस्था नियन्त्रणमा लिइएको थियो। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।
    अस्पताल प्रशासनले घटनाको कडा निन्दा गर्दै स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा हुने यस्ता हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ। प्रशासनले दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा अस्पतालको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेको छ।
    स्वास्थ्यकर्मीहरूले बिरामीको जीवन बचाउने जिम्मेवारी निर्वाह गरिरहेका बेला उनीहरूमाथि हुने आक्रमणले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने भन्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    प्रतिकृया दिनुहोस्