
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राजनीतिक परिस्थितिमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक अ पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एउटै मञ्चमा बस्ने वा राजनीतिक सहकार्य गर्ने अवस्था नरहेको बताएका छन्।
काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश विशेष बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले नयाँ राजनीतिक प्रस्तावबिना नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढ्न नसक्ने धारणा राखे। उनले नेपालमा संसदीय कम्युनिस्ट धार कमजोर मात्र नभई पतनोन्मुख अवस्थामा पुगेको दाबी गर्दै त्यसको प्रमुख जिम्मेवार केपी ओली र प्रचण्ड रहेको बताए।
बैठकमा सहभागी एक नेताका अनुसार विप्लवले संसदीय कम्युनिस्ट धारलाई कमजोर बनाउने र क्रान्तिकारी कम्युनिस्ट धारलाई पनि उठ्न नदिने प्रयास भइरहेको उल्लेख गरेका थिए। उनले यस्तो अवस्थाबाट कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन नयाँ वैचारिक तथा राजनीतिक प्रस्ताव आवश्यक रहेको बताए।
विप्लवले आफ्नो पार्टीले विगतमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र देशलाई अग्रगामी निकास दिनका लागि सहकार्यको प्रस्ताव अघि सारेको स्मरण गराउँदै त्यसलाई गम्भीर रूपमा नलिइएको बताए। उनका अनुसार उक्त प्रस्तावलाई वैचारिक रूपान्तरणको आधारका रूपमा नभई चुनावी स्वार्थका दृष्टिले मात्रै हेरियो।
उनले भने, “यदि हामीले अघि सारेको प्रस्ताव स्वीकार गरिएको भए आजको राजनीतिक अवस्थाको सामना गर्नुपर्ने थिएन। तर हाम्रो प्रस्तावलाई याचनाका रूपमा बुझियो। उहाँहरूको प्राथमिकता चुनाव जित्ने, ठूलो पार्टी बन्ने, सरकार बनाउने र सत्तामा रहनेतर्फ केन्द्रित रह्यो, त्यसैले सहकार्य सम्भव भएन।”
महासचिव विप्लवले आफ्नो पार्टीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि सबै मोर्चाबाट संघर्ष गरिरहेको दाबी गरे। उनले केपी ओली र प्रचण्ड संसदीय राजनीतिको घेराभन्दा बाहिर आउन नसकेको टिप्पणी गर्दै उनीहरूको नेतृत्वबाट कम्युनिस्ट आन्दोलनको रक्षा र विकास सम्भव नरहेको बताए।
हामी क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको केन्द्र हौँ। जनताको आशाको यो केन्द्रमाथि विभिन्न कोणबाट प्रहार भइरहेको छ। तर हामी कुनै पनि मूल्यमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई जोगाएर समाजवादी क्रान्तिलाई सफल बनाउनेछौँ,” विप्लवको भनाइ उद्धृत गर्दै सहभागीले जानकारी दिए।
उनले वर्तमान राष्ट्रिय संकटको दीर्घकालीन समाधान समाजवादमा मात्रै रहेको उल्लेख गर्दै समाजवादको कार्यक्रम र प्रस्तावमा सहमत हुने राजनीतिक शक्तिसँग सहकार्यका लागि आफ्नो पार्टी खुला रहेको बताए। तर वर्तमान अवस्थामा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एउटै मञ्चमा बस्ने वा राजनीतिक सहकार्य गर्ने अवस्था नरहेको उनले स्पष्ट पारे।















