
भक्तपुर, असार २८ । भक्तपुर जिल्ला पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। जिल्लाका चारवटै स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै आवश्यक खोप प्राप्त गरेको पुष्टि भएपछि आइतबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रमाणपत्र हस्तान्तरण गर्दै भक्तपुरलाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।
भक्तपुर २०७५ सालमै पहिलो पटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो। त्यसयता नियमित अनुगमन, सेवा निरन्तरता तथा दिगोपनाका सूचकका आधारमा पुनः मूल्याङ्कन हुँदै आएको छ। यस वर्ष पनि चारै नगरपालिकाले तोकिएका सबै मापदण्ड पूरा गरेपछि पुनः औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको प्रारम्भिक पहिचानका लागि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरी घरदैलोमै स्वास्थ्य सेवा विस्तार गरिने जानकारी दिए। उनले उपचारभन्दा रोकथाममुखी स्वास्थ्य सेवामा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै समुदायमै पुगेर स्वास्थ्य परीक्षण, रोग पहिचान र परामर्श सेवा विस्तार गरिने बताए।
उनले भक्तपुर अस्पतालमा छिट्टै कार्डियोलोजी (मुटुरोग) सेवा सञ्चालन गरिने जानकारी दिँदै प्रदेशवासीलाई आफ्नै जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार अस्पतालहरूको क्षमता विस्तार भइरहेको बताए। साथै, ख्वोप अस्पतालमा अत्याधुनिक एमआरआई (MRI) मेसिन खरिदका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिँदै सेवा सञ्चालनपछि बिरामीलाई अन्य जिल्लामा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भक्तपुरलाई स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने अभियान अघि बढिरहेको बताउँदै भक्तपुर अस्पतालले देशकै उत्कृष्ट अस्पतालमध्ये आफ्नो पहिचान बनाउन सफल भएको बताए।
स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणा एउटा महत्वपूर्ण उपलब्धि भए पनि त्यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताइन्। उनले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा जोड दिँदै नियमित खोप कार्यक्रमका कारण बाल मृत्युदरमा उल्लेखनीय कमी आएको र हालसम्मको तथ्याङ्कअनुसार करिब ८० प्रतिशतले बाल मृत्युदर घटेको जानकारी दिइन्।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार जिल्लामा ० देखि १६ महिनासम्मका ५ हजार ५० तथा १६ देखि २३ महिनासम्मका ५ हजार ६८४ बालबालिकाले सबै आवश्यक खोप प्राप्त गरेका छन्। उनले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्थानीय तह तथा समुदायबीचको समन्वय र सहकार्यका कारण यो उपलब्धि सम्भव भएको बताउँदै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने सुनिश्चित गरिने बताइन्।
जिल्ला खोप समन्वय समितिकी संयोजक तथा जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धिको अन्त्य नभई थप जिम्मेवारीको सुरुआत भएको उल्लेख गर्दै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र गुणस्तरीय सेवा प्रवाहमार्फत यस उपलब्धिलाई दिगो बनाइने बताइन्।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो।
भक्तपुरको पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै जिल्ला बाल स्वास्थ्य सूचकमा अग्रणी जिल्लाका रूपमा थप स्थापित भएको छ। अब प्रत्येक बालबालिकाले समयमै नियमित खोप सेवा प्राप्त गर्ने सुनिश्चित गर्दै यस उपलब्धिलाई दीर्घकालसम्म कायम राख्ने चुनौती र जिम्मेवारी सम्बन्धित सबै निकायमाथि थपिएको छ।















