
१९असार २०८३ भक्तपुर । भक्तपुर अस्पतालले मेरुदण्ड (स्पाइन) को फ्र्याक्चर भएका एक बिरामीको सफल स्पाइनल स्टेबिलाइजेसन (Spinal Stabilization) शल्यक्रिया सम्पन्न गर्दै जटिल ट्रमा उपचारमा अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ।
दुर्घटनापछि ढाडमा गम्भीर चोट लागेका बिरामीलाई उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना गरिएको थियो। विशेषज्ञ चिकित्सकहरूको विस्तृत स्वास्थ्य परीक्षण तथा आवश्यक रेडियोलोजिकल परीक्षणपछि बिरामीको मेरुदण्डमा फ्र्याक्चर भएको पुष्टि भएको थियो। त्यसपछि बिरामीको अवस्थालाई मध्यनजर गर्दै विशेषज्ञ टोलीले सफलतापूर्वक स्पाइन शल्यक्रिया सम्पन्न गरेको हो।
उक्त शल्यक्रिया अर्थोपेडिक सर्जन डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछाको टोलीले सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ।
हाल बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ। उहाँ चिकित्सकहरूको नियमित निगरानीमा स्वास्थ्य लाभ गरिरहनुभएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार यस सफल स्पाइन शल्यक्रियाले भक्तपुर अस्पतालमा विशेषज्ञ अर्थोपेडिक तथा ट्रमा सेवाको क्षमता, आधुनिक स्पाइन शल्यक्रिया प्रविधिको प्रयोग तथा जटिल ट्रमा बिरामीहरूको सुरक्षित र गुणस्तरीय उपचारप्रतिको अस्पतालको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
यस सफल शल्यक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने एनेस्थेसिया विशेषज्ञ डा. दीपक लोहला, एनेस्थेसिया टोली तथा नर्सिङ टोलीप्रति अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
भक्तपुर अस्पतालले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिमार्फत जटिल शल्यक्रियासहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।













