News Portal

  • नेसनल प्याब्सन भक्तपुरद्वारा शिक्षक अभिमुखीकरण सम्पन्न, २७४ शिक्षक सहभागी

    दोलागिरि संवाददाता२०८३ आषाढ १४
    १३ पटक

    भक्तपुर, २०८३ असार १३ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरको आयोजना तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को सहकार्यमा प्राथमिक तहका शिक्षकहरूका लागि एकदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
    जगातीस्थित होटल भ्यु भक्तपुरमा आयोजित “Continuous Assessment (Focused on Grade 1–5 Assessment)” विषयक प्रशिक्षणमा नेसनल प्याब्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यापन गराउने २७४ जना शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
    कार्यक्रममा कक्षा १–५ का विद्यार्थीहरूको सिकाइ उपलब्धिको मूल्याङ्कन परम्परागत कागज–पेन्सिल परीक्षामा मात्र सीमित नराखी, निरन्तर विद्यार्थी मूल्याङ्कन (CAS), परियोजना कार्य, प्रयोगात्मक अभ्यास, पोर्टफोलियो व्यवस्थापन, अवलोकन तथा सहपाठी मूल्याङ्कन जस्ता आधुनिक र व्यवहारमुखी विधिहरूमार्फत कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
    सहजकर्ताहरूले परीक्षा नलिनु भनेको मूल्याङ्कन नगर्नु होइन, बरु विद्यार्थीको वास्तविक सिकाइ, सीप, सिर्जनशीलता र व्यवहारलाई निरन्तर रूपमा अवलोकन र अभिलेखीकरण गर्दै समग्र विकासको मूल्याङ्कन गर्नु नै आधुनिक शिक्षाको मूल उद्देश्य रहेको स्पष्ट पारे।
    प्रशिक्षणमा काठमाडौँ विश्वविद्यालयका विज्ञ प्रशिक्षकहरू ईन्द्रमणि दाहाल, समीक्षा हाडा, डा. रुपा मुनकर्मी तथा सरिता खड्काले विभिन्न सत्र सञ्चालन गर्दै बालमैत्री तथा विद्यार्थी–केन्द्रित मूल्याङ्कन प्रणालीलाई व्यवहारमा लागू गर्ने प्रभावकारी उपायहरू प्रस्तुत गरेका थिए।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्राथमिक तहका विद्यार्थीको क्षमताको सही पहिचान निरन्तर मूल्याङ्कन प्रणालीबाट मात्र सम्भव हुने उल्लेख गर्दै यस्ता प्रशिक्षणले शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
    कार्यक्रम संयोजक रमेशप्रसाद सिटौलाका अनुसार काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका सहायक डिन प्रा. डा. सेषकान्त पगेनीको विशेष उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
    प्रशिक्षणको समापनसँगै सहभागी सबै शिक्षकहरूलाई पेसागत दक्षता अभिवृद्धिमा योगदान पुर्‍याएको कदरस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यालय शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी–केन्द्रित शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्