News Portal

  • भक्तपुर नगरपालिकाको २ अर्ब ५५ करोडको बजेट प्रस्तुत, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

    दोलागिरि संवाददाता२०८३ आषाढ १०
    २८ पटक

    भक्तपुर, असार १० — भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. २ अर्ब ५५ करोड बराबरको अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ। बुधबार नगर प्रमुख सुनिल प्रजापति को अध्यक्षतामा बसेको बीसौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशी ले बजेट प्रस्तुत गर्नुभएको हो।
    प्रस्तुत बजेट नगरपालिकाको आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, विभिन्न अनुदान तथा चालु आर्थिक वर्षको बैंक मौज्दातबाट व्यवस्थापन गरिने जनाइएको छ।
    कुल बजेटमध्ये चालुतर्फ रु. १ अर्ब ५५ करोड ८९ लाख (६१.१३ प्रतिशत), पूँजीगततर्फ रु. ९३ करोड ३१ लाख (३६.६० प्रतिशत) तथा वित्तीय व्यवस्थापनतर्फ रु. ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरिएको छ।
    नगरवासीको आवश्यकता र भावनालाई केन्द्रमा राख्दै शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। शैक्षिक विकास तथा शिक्षा क्षेत्रका विभिन्न कार्यक्रमका लागि रु. ५६ करोड २७ लाख ४० हजार (२२.०६ प्रतिशत) बजेट छुट्याइएको छ।
    स्वास्थ्य क्षेत्रअन्तर्गत नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल लाई आधुनिक सुविधासम्पन्न बनाउने लक्ष्यसहित एमआरआई सेवा र आईसीयू सेवा सञ्चालनका लागि मात्र रु. २३ करोड विनियोजन गरिएको छ। समग्र स्वास्थ्य क्षेत्रका कार्यक्रमका लागि रु. ३५ करोड ६४ लाख (१३.९७ प्रतिशत) बजेट छुट्याइएको छ।
    त्यसैगरी सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणका लागि रु. ७ करोड ९० लाख, भौतिक पूर्वाधार निर्माणका लागि रु. ३५ करोड (१३.७२ प्रतिशत), पर्यटन प्रवर्द्धनका लागि रु. ३ करोड ८० लाख, वातावरण सुधार तथा फोहोरमैला व्यवस्थापनका लागि रु. २३ करोड १५ लाख ८० हजार, तथा खेलकुद विकास र पूर्वाधार निर्माणका लागि रु. ३ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ।
    विपद् व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्दै नगरपालिकाले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन ‘प्रकोप व्यवस्थापन कोष’ सुदृढीकरणका लागि रु. ४० लाख बजेट व्यवस्था गरेको छ।
    कृषि क्षेत्रअन्तर्गत पूर्वाधार विकास, बजारीकरण, सहुलियत तथा अनुदान, प्रांगारिक खेती प्रवर्द्धन, वातावरण संरक्षण, संस्थागत सहयोग तथा अध्ययन अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। साथै नगरपालिकाका लागि आवश्यक जग्गा खरिद तथा सार्वजनिक भवनहरूको मर्मत–सम्भारका लागि पनि बजेट छुट्याइएको छ।
    नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक, २०८३” तथा “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८३” समेत सभासमक्ष प्रस्तुत गर्नुभएको थियो।
    नगरसभाको अर्को बैठक असार १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।

    प्रतिकृया दिनुहोस्