News Portal

  • प्रेस स्वतन्त्रता कुण्ठित भएको महासचिव दाहालको आरोप, आन्दोलनको तयारी गर्न पत्रकारलाई आह्वान

    दोलागिरि संवाददाता२०८३ जेठ ३०
    ४८ पटक

    भक्तपुर, जेठ ३० — नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औँ वार्षिक साधारणसभा शनिबार भक्तपुर बैंक्वेटमा सम्पन्न भएको छ।
    साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका महासचिव रामप्रसाद दाहालले वर्तमान सरकारले सूचनाको पहुँचलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको अवस्थासँग तुलना गर्न मिल्ने गरी संकुचित बनाएको आरोप लगाउनुभयो। उहाँले पत्रकार समुदायमाथि बढ्दो दबाब र प्रेस स्वतन्त्रतामाथि भएका हस्तक्षेपका कारण साधारणसभालाई आन्दोलनको सभाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
    महासचिव दाहालले सरकारको पत्रकारिता क्षेत्रप्रतिको दृष्टिकोण नै दूषित रहेको टिप्पणी गर्दै सञ्चार संस्था तथा श्रमजीवी पत्रकारमाथि भएका गतिविधिले प्रेस स्वतन्त्रताको गम्भीर हनन भएको बताउनुभयो। सरकार मिडियासँग आतंकित भएको र पत्रकारको सूचना सम्प्रेषण गर्ने संवैधानिक अधिकारमाथि विभिन्न किसिमका बाधा–अवरोध सिर्जना गरिएकाले नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता कुण्ठित हुन पुगेको उहाँको भनाइ थियो।
    उहाँले प्रेस स्वतन्त्रता, पत्रकारको हकहित र सुरक्षाको रक्षाका लागि आगामी असार ५ गते काठमाडौं उपत्यका केन्द्रित सशक्त आन्दोलन गरिने चेतावनी समेत दिनुभयो।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि महासंघको केन्द्रीय समितिले सञ्चालन गरेका विभिन्न गतिविधिबारे जानकारी गराउँदै श्रमजीवी पत्रकारहरूलाई महासंघका आन्दोलन र कार्यक्रमहरूमा सक्रिय साथ दिन आग्रह गर्नुभयो।
    साधारणसभामा उपत्यका प्रदेशका कार्यवाहक अध्यक्ष रोजिना थापा, महासंघ भक्तपुरका पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, वरिष्ठ पत्रकार कविर राणा, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल तथा ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
    त्यसैगरी हरिसुन्दर छुकां, नविना खर्बुजा, मदन ढुंगाना, आशिष पौडेल, रोशन शिल्पकार र पुष्करराज बुढाथोकीले पनि आफ्नो धारणा राख्नुभएको थियो।
    महासंघका कोषाध्यक्ष रामगोपाल तमखुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा सहसचिव दिनेश कार्कीले प्रस्तुत गर्नुभएको कार्यसमिति प्रतिवेदनमाथि छलफल गरी साधारणसभाले पारित गरेको थियो।
    कार्यक्रमको सभापतित्व गर्दै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले पत्रकारिता क्षेत्रलाई समयानुकूल रूपान्तरण गर्दै छापा माध्यमबाट डिजिटल माध्यमतर्फ उन्मुख गराउन महासंघले विभिन्न तालिम, अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले बदलिँदो सञ्चार प्रविधिसँग पत्रकारलाई अनुकूल बनाउन महासंघ प्रतिबद्ध रहेको समेत धाराण राख्नु भयो ।

    प्रतिकृया दिनुहोस्