
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट डिकबहादुर खत्री (कुमार) अध्यक्षमा निर्वाचित भएका छन्। खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै प्यानलसहित विजय हासिल गरेका हुन्।
आइतबार सम्पन्न मतदानको मतगणना राति अबेर सकिएको थियो। अन्तिम मत परिणामअनुसार अध्यक्ष पदका उम्मेदवार खत्रीले ३४७ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवार मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका थिए।
खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीहरूको संयुक्त समर्थन रहेको थियो।
निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१ मतसहित विजयी भए भने द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मत र तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित निर्वाचित भए। त्यसैगरी महासचिवमा हरि डाँगी २७३ मत, सचिवमा केदारनाथ अधिकारी २९४ मत तथा कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मत प्राप्त गर्दै विजयी भएका छन्।
निर्वाचनमा प्रगतिशील प्यानलले उल्लेखनीय सफलता हासिल गरेको छ। १७ सदस्यीय कार्यसमितिमा रहेका ७ पदाधिकारीमध्ये ६ जना तथा १० कार्यसमिति सदस्यमध्ये ८ जना प्रगतिशील प्यानलबाट निर्वाचित भएका छन्। एसोसिएसन प्यानलबाट भने तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन्।
निर्वाचन समितिका अनुसार कुल ७७४ मतदातामध्ये ७१९ जनाले मतदान गरेका थिए, जुन उच्च सहभागिताका रूपमा हेरिएको छ। लामो समयदेखि संघभित्र देखिएको नेतृत्व विवाद, संस्थागत अन्योल तथा विभिन्न राजनीतिक र व्यवसायिक समूहबीचको प्रतिस्पर्धाका कारण यसपटकको निर्वाचनलाई वैदेशिक रोजगार क्षेत्रले विशेष चासोका साथ हेरेको थियो।
नवनिर्वाचित अध्यक्ष खत्री वैदेशिक रोजगार क्षेत्रका अनुभवी व्यवसायीका रूपमा परिचित छन्। उनी यसअघि संघको प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। व्यवसायीका हकहित, श्रम आप्रवासन व्यवस्थापन तथा वैदेशिक रोजगार क्षेत्रका विविध मुद्दामा सक्रिय भूमिका खेल्दै आएका खत्रीले नेतृत्व सम्हालेसँगै संघलाई थप संस्थागत, प्रभावकारी र व्यवसायीमैत्री बनाउने अपेक्षा गरिएको छ।













