
भक्तपुर । प्राविधिक शिक्षा, नवप्रवर्तन, सीप विकास तथा समुदायको समग्र विकासलाई जोड्ने महत्वपूर्ण कदमस्वरूप नेपाल इन्जिनियरिङ कलेज (NEC) र चाँगुनारायण नगरपालिकाबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ।
सम्झौतापत्रमा कलेजका तर्फबाट प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी तथा चाँगुनारायण नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ले हस्ताक्षर गरेका थिए।
समझदारीअनुसार नेपाल इन्जिनियरिङ कलेजले नगरपालिकाको विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक जनशक्ति, अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउनेछ। त्यसैगरी, नगरपालिकाले कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई नवप्रवर्तन, उद्यमशीलता र सीप विकासका क्षेत्रमा प्रोत्साहन गर्नेछ।
सम्झौताले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र कार्यअनुभव प्रदान गर्ने विशेष अवसर समेत सिर्जना गरेको छ। चाँगुनारायण नगरपालिका तथा मातहतका सबै वडाहरूले नेपाल इन्जिनियरिङ कलेजका विभिन्न कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरूलाई न्यूनतम तीन महिनाको इन्टर्नशिप अवसर उपलब्ध गराउने भएका छन्।
यसैगरी, विद्यार्थीहरूले विकास गरेका नवीन सोच, प्रविधि तथा परियोजना प्रस्तावहरू छनोट भएमा नगरपालिकाले आफ्नो नीति तथा नियमअनुसार आर्थिक सहयोग, मार्गदर्शन तथा कार्यान्वयनका अवसरहरू समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यस सहकार्यलाई शैक्षिक संस्था र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ बलियो बनाउने, युवाहरूमा उद्यमशीलता र नवप्रवर्तनको संस्कृतिलाई प्रवर्द्धन गर्ने तथा स्थानीय विकासलाई प्रविधिमैत्री र दिगो बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।













