
भक्तपुर, जेठ १७ — भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित दोस्रो भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सम्पन्न भएको छ। ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन– विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नारासहित उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुईदिने मेला सञ्चालन गरिएको थियो।
भक्तपुर जिल्लाका मौलिक उत्पादन, स्थानीय स्रोत–साधनमा आधारित हस्तकला सामग्री तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटक गरी १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
संघका कोषाध्यक्ष तथा मेला उपसमिति संयोजक रञ्जित मारिखूका अनुसार प्रतिकूल मौसमका बाबजुद मेला अपेक्षाभन्दा सफल र उपलब्धिमूलक बनेको छ। संघका उपाध्यक्ष तथा मेला समितिका सल्लाहकार विश्वराम दुवालले मेलाले स्थानीय उत्पादनको प्रचार–प्रसार र बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
मेलामा भक्तपुरको मौलिक पहिचान बोकेको भादगाउँले कालो टोपी, जुजु धौ, विभिन्न हस्तकला सामग्री, कृषि उत्पादन, साना तथा मझौला उद्यमीका उत्पादन, चित्रकला, छाला तथा जुत्ताजन्य सामग्री, औद्योगिक उत्पादन तथा स्थानीय परिकारका गरी ४० वटा स्टल राखिएका थिए। साथै स्वास्थ्य शिविर, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
मेलाको पहिलो दिन शुक्रबार साँझ मङ्का ब्यान्डको सांगीतिक प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसले दर्शकको उल्लेखनीय आकर्षण बटुलेको थियो।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले स्थानीय स्रोत र साधनबाट उत्पादित वस्तुको बजारीकरण, मौलिक कला–संस्कृतिको संरक्षण तथा जिल्लाको आर्थिक, कृषि र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर संघले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले यसै वर्ष भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारीसमेत भइरहेको जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघ सहयोगी निकाय रहेको उक्त मेलाको मुख्य प्रायोजक होटल दाची रहेको थियो। मिडिया पार्टनरका रूपमा नमस्ते ख्वप टेलिभिजन र ङातापोल एक्सप्रेस दैनिक तथा अनलाइन पार्टनरका रूपमा ईटिकेटनेपाल डटकम रहेका थिए। मेला व्यवस्थापनको जिम्मेवारी इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रालिले वहन गरेको थियो।
उक्त मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य ले गरेका थिए। उद्घाटन कार्यक्रममा रुकेश रञ्जित, दिलसुन्दर श्रेष्ठ, बेदबहादुर श्रेष्ठ, विनोदकुमार खड्का, सूर्यबहादुर खड्का लगायत सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













