News Portal

  • सत्य र स्वतन्त्रताको पक्षमा पत्रकारिता सधैं उभिनुपर्छ:प्रकाशमान सिंह राउत

    दोलागिरि संवाददाता२०८३ जेठ १६
    ६ पटक

    ललितपुर, जेठ १६ — पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले लोकतान्त्रिक व्यवस्थामा पत्रकारिताले नागरिकका नैसर्गिक अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
    नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा शाखाद्वारा प्रकाशित ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तकको विमोचन गर्दै उनले पत्रकारिता क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरे। पत्रकारहरूले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सदुपयोग गर्दै समाजमा सत्य, न्याय र उत्तरदायित्वको पक्षमा निरन्तर उभिनुपर्ने उनको भनाइ थियो।
    राउतले ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तकलाई जिल्लाको पत्रकारिता यात्राको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गर्दै यसको प्रकाशनका लागि नेपाल पत्रकार महासंघ ललितपुर शाखालाई धन्यवाद दिए।
    सो अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका सात जना पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो। राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार तथा नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरियो।
    दियोपोष्टकी रीता बुढाथोकीलाई क्यान्सरसम्बन्धी सचेतनामूलक पत्रकारितामा पुर्‍याएको योगदानका लागि सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चार डटकमका केदारनाथ दाहाललाई ललितपुर पत्रकारिता पुरस्कार बाट सम्मान गरिएको थियो।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले विगत डेढ वर्षमा पत्रकारहरूको क्षमता अभिवृद्धि र व्यावसायिक विकासका लागि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले आगामी वर्षदेखि ललितपुरको पत्रकारितासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले एक जना महिला र एक जना पुरुष पत्रकारलाई शोधपत्र लेखनका लागि छात्रवृत्ति प्रदान गरिने घोषणा समेत गरे।
    साधारण सभाको बन्दसत्रमा शाखाका सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको शाखाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्