
भक्तपुर, जेठ १६ — वी क्यान एजुकेशनल नेपाल, भक्तपुरको आयोजनामा तथा शिक्षा इङ्गलिस स्कुल, सूर्यविनायकमा सम्पन्न अन्तरविद्यालय रङ्ग भर्ने तथा चित्रकला प्रतियोगिताको उपाधि ऋतम्भरा पाठशाला/कलेजले जितेको छ।
प्रतियोगितामा भक्तपुरका विभिन्न संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट पाँच/पाँच जना विद्यार्थी सहभागी भएका थिए। प्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूबीच सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ऋतम्भरा पाठशाला/कलेज समग्रतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको हो।
विद्यालयका अनुसार ऋतम्भरा पाठशाला/कलेजले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापसम्बन्धी प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। चाँगुनारायण नगरपालिका–२ मा अवस्थित उक्त विद्यालयले माध्यमिक तह सञ्चालन गरेको छोटो अवधिमै प्लस टु सञ्चालन गर्ने नगरकै पहिलो संस्थागत विद्यालयका रूपमा परिचय बनाएको छ।
संस्कारसहितको गुणस्तरीय शिक्षालाई मूल मन्त्र बनाउँदै अघि बढिरहेको विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४.० जीपीए प्राप्त गराउन सफल भएको जनाएको छ। विद्यालयका अनुसार चाँगुनारायण नगरपालिकाभित्र ४.० जीपीए ल्याउने यो सबैभन्दा कान्छो तथा पहिलो विद्यालय हो।
विद्यालय सञ्चालनको प्रारम्भिक चरणमै कोभिड–१९ महामारीको चुनौती सामना गर्नुपरे पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै अतिरिक्त क्रियाकलापलाई विशेष महत्व दिइएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा गुणस्तरीय शिक्षाका लागि अनुभवी तथा योग्य शिक्षक–शिक्षिकाको व्यवस्था गरिएको छ भने विभिन्न अतिरिक्त गतिविधिका लागि दक्ष प्रशिक्षकहरू पनि उपलब्ध गराइएको छ।
यसैबीच, विद्यालयले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा मानविकी तथा व्यवस्थापन संकायमा विशेष छात्रवृत्तिसहित भर्ना खुला गरिएको जानकारी दिएको छ।













