
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ ले फागुन २१ पछिको राजनीतिक अवस्थापछि नेपालमा “तिनथरी हावा” चलाइएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बागमती प्रदेशद्वारा आयोजित राजनीतिक–वैचारिक प्रशिक्षण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले समाजमा योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको धारणा राखेका हुन् ।
उनले पहिलो हावा “पुँजीवादी हावा” भएको उल्लेख गर्दै यो हावाले समाजमा अनावश्यक भ्रम, निराशा र दुर्गन्धित राजनीतिक वातावरण फैलाइरहेको बताए । “जनतालाई अन्योलमा पार्ने, क्रान्तिकारी विचारलाई कमजोर बनाउने र दलाल व्यवस्थालाई बलियो बनाउने उद्देश्यले यस्तो हावा चलाइएको छ,” उनले भने ।
विप्लवले नेपालमा “कम्युनिस्टहरू सकिए”, “कम्युनिस्ट आन्दोलन समाप्त भयो” भन्ने प्रचार सुनियोजित रूपमा फैलाइएको आरोप लगाए । उनले कम्युनिस्ट विचार कहिल्यै पराजित नहुने भन्दै जनताको मुक्तिसँग जोडिएको विचारधारा भएकाले यसलाई समाप्त गर्न नसकिने बताए ।
उनले कम्युनिस्ट एकताबारे पनि धारणा राख्दै केवल नामको एकताले समाधान नदिने स्पष्ट पारे । “विचार, कार्यदिशा र नेतृत्वको आधारमा हुने एकताले मात्रै अहिलेको अव्यवस्था अन्त्य गर्न सक्छ,” उनले बताए । कम्युनिस्ट आन्दोलनभित्र वैचारिक स्पष्टता र जनतासँगको सम्बन्ध विस्तार अपरिहार्य रहेको उनको भनाइ थियो ।
कार्यक्रममा उनले वर्तमान सरकारप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरे । अहिलेको सरकार “नवदलालहरूको सरकार” बनेको आरोप लगाउँदै उनले यसलाई कम्युनिस्टविरोधी सरकारको संज्ञा दिए । सुकुम्बासीमाथि भइरहेको दमन, जनअधिकारमाथिका हस्तक्षेप तथा राज्यको दमनकारी गतिविधिविरुद्ध संघर्ष आवश्यक रहेको उनले बताए ।
विप्लवले जनतामा प्रत्यक्ष पुग्ने, सम्बन्ध विस्तार गर्ने र वैचारिक बहसलाई तीव्र बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार जनताको पक्षमा उभिने वास्तविक कम्युनिस्ट शक्तिहरू अझै जीवित र संघर्षरत रहेका छन् ।













