
१० जेठ २०८३ काठमाडौं । प्रगतिशील लेखक सङ्घ (प्रलेस) को आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा आयोजित उक्त कार्यक्रम शनिबार सुकेधारामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार झलनाथ खनाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै खनालले आफ्नो चर्चित कविता ‘महाविष्फोट’ वाचन गर्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले साहित्यलाई युगीन चरित्रका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो । २०६२/६३ सालको आन्दोलनलाई उल्लेख गर्दै उहाँले नेपालमा त्यतिबेला पुँजीवादी प्रकृतिको क्रान्ति भएको तर नयाँ जनवादी क्रान्ति नभएको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान राजनीतिक तथा सामाजिक परिवेशलाई ध्यानमा राखेर प्रगतिशील साहित्य सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
खनालले पछिल्लो समय विकसित ‘जेनजी आन्दोलन’ को प्रभावबारे चर्चा गर्दै अब राजनीतिक दलहरूले युवापुस्तालाई नेतृत्व तहमा समेट्नुपर्ने समय आएको बताउनुभयो । साथै, साझा वामपन्थी साहित्यिक संगठनको रूपमा प्रलेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
डा. देवी क्षेत्री दुलाल को अध्यक्षता तथा डा. पारस ढकाल को सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष समीर सिंह ले स्वागत मन्तव्य राख्नुभएको थियो । राष्ट्रियगान वाचन र सहिदप्रति एक मिनेट मौनधारणपछि कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो ।
कार्यक्रममा ललितविक्रम सिंह, क्यू वाङ मिङ, मनोज न्यौपाने, सुदर्शन सिग्देल, केके कर्माचार्य, हेमनाथ पौडेल, प्रकाश थापामगर तथा भीम कुमाखी मल्ल शोभा दुलाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्र विचारगोष्ठीमा केन्द्रित रहेको थियो । पहिलो कार्यपत्र मातृका पोखरेल ले “प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा” शीर्षकमा प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि साहित्यकार सीता शर्मा ले टिप्पणी गर्नुभएको थियो ।
त्यसैगरी दोस्रो कार्यपत्र प्रा.डा. विदुर चालिसे ले “बुढानीलकण्ठ नगरपालिका – प्रगतिशील साहित्य” शीर्षकमा प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकार नर्मदेश्वरी सत्याल ले टिप्पणी गर्नुभएको थियो ।
गोष्ठीमा सहभागी साहित्यकार तथा बुद्धिजीवीहरूले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । सो क्रममा जगत् वाशिष्ठ, गोपालकुमार मैनाली, वासुदेव अधिकारी, डा. फणिन्द्र निरौला, सुधा मैनाली, माधव प्रधान, डम्बर पहाडी (एलाक), प्रवीन जोशी, लोकबहादुर थापा, प्राडा जीवेन्द्रदेव गिरी तथा कृष्ण धारावासी ले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो । सामना सांस्कृतिक परिवार का आरोह नेपाली तथा जनसांस्कृतिक महासङ्घ की उपाध्यक्ष नमुना शर्मा ले गीत प्रस्तुत गर्नुभएको थियो ।
















