News Portal

  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बागमती प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न

    दोलागिरि संवाददाता२०८३ जेठ ७
    ४५ पटक

    काठमाडौं, जेठ ८ ।
    नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बागमती प्रदेशको तेस्रो पूर्ण बैठक प्रदेश इन्चार्ज माइला सीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण तथा जनसंघर्षका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
    बैठकमा हालै सम्पन्न नवौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकले पारित गरेका निर्णयहरू कार्यान्वयन गर्ने विषयमा विशेष छलफल गरिएको थियो । साथै वर्तमान सरकारले सुकुम्बासी बस्तीमाथि सञ्चालन गरेको डोजर आतंक, विस्थापन र दमनका घटनाबारे गम्भीर समीक्षा गर्दै त्यसका विरुद्ध जनपक्षीय प्रतिरोधलाई सशक्त बनाउने निर्णय गरिएको बताइएको छ ।
    बैठकले पार्टीको आगामी संगठनात्मक राष्ट्रिय सम्मेलनको तयारीलाई तीव्र बनाउने निर्णय  पनि गरेको छ पार्टीको राष्ट्रिय महाधिवेशन  असोज १० देखि १५ गतेसम्म सम्मेलन सम्पन्न गर्ने कार्यतालिको आधारमा  वडा तथा पालिका स्तरका सम्मेलनहरू भदौ महिनाको अन्तिम सातासम्म सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।

    त्यसैगरी, फागुन २१ गते सम्पन्न निर्वाचनको पनि बैठकले समीक्षा गरेको छ । पार्टीले उक्त निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यमका रूपमा नभई जनतासँगको सम्बन्ध विस्तार, विचार प्रवाह तथा संघर्षको मोर्चाका रूपमा लिएको निष्कर्ष निकालिएको छ । बैठकमा “एउटै चुनावबाट आतिने र हतारोमा निष्कर्ष निकाल्ने काम गर्नु नहुने” धारणा समेत व्यक्त गरिएको थियो ।

    बैठकको अन्त्यमा अध्यक्षता गरिरहेका माइला सीले बैठकलाई सम्बोधन गर्दै नेपालमा क्रान्तिकारी राजनीतिक धाराको नेतृत्व गर्ने एक मात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रहेको र त्यसको नेतृत्वकर्ता नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति जनताले आशा र भरोसा व्यक्त गरिरहेको बताएका थिए । उनले “नयाँ” भन्ने शक्तिहरूको अवस्था झन् दयनीय बन्दै गएको टिप्पणी गर्दै पार्टी पंक्तिलाई इमानदार, अनुशासित र जनताप्रति प्रतिबद्ध भएर निरन्तर संघर्षमा लाग्न निर्देशन दिएका थिए ।
    बैठकले वर्तमान राजनीतिक संकट, जनजीविकाका सवाल तथा राष्ट्रिय स्वाधीनताको पक्षमा पार्टीलाई अझ सक्रिय र जनतासँग जोडेर अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्