
बैशाख २७ । शिक्षक तथा विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानलाई सहयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले ललितपुर सानेपास्थित Everest Engineering College मा स्थापित आन्तरिक अनुसन्धान अनुदान कोषबाट गत आर्थिक वर्षमा सहयोग प्राप्त तीनवटा अनुसन्धान कार्यक्रमहरूको परिणाम प्रस्तुतीकरण आज कलेजको सेमिनार हलमा सम्पन्न भएको छ ।
कलेजले प्रत्येक वर्ष खुला प्रतियोगितामार्फत छनोट गरिएका अनुसन्धान प्रस्तावहरूलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कार्यक्रममा कलेजका शिक्षक इन्जिनियर Narayan Sapkota ले भिरालो जमिनमा पहिरो फैलावटको अनुमान गर्ने नयाँ गणितीय विधिबारे प्रस्तुति दिएका थिए । भौतिकशास्त्र र न्यूरल नेटवर्कको सम्मिश्रणबाट विकास गरिएको उक्त ‘पिआइएनएन’ आधारित पहिरो अनुमान विधि संसारकै नौलो रहेको उनको दाबी थियो । कार्यक्रममा उपस्थित विज्ञहरूले उक्त अनुसन्धानलाई उच्च कोटीको भन्दै प्रशंसा गरेका थिए ।
त्यसैगरी अनुसन्धानकर्ता Newton Shahi Thakuri ले भूकम्पीय विपद्का समयमा घाइतेहरूको उपचार व्यवस्थापनमा अस्पतालको संख्या, क्षमता, एम्बुलेन्सको उपलब्धता तथा डाक्टरहरूको संख्याले पार्ने प्रभावबारे अनुसन्धान प्रस्तुत गरे । कम्प्युटर आधारित गणितीय विधिहरू प्रयोग गरेर घाइते बिरामी र चिकित्सकीय सेवाको समयावधि न्यूनीकरण गर्न सकिने उनको निष्कर्ष थियो ।
कार्यक्रममा अनुसन्धानकर्ता Ayush Koirala र Shubham BK ले संयुक्त रूपमा बागमती नदीका शाखा नदीहरूमा रहेको रासायनिक तथा जैविक प्रदूषणको अवस्थाबारे अध्ययन प्रस्तुत गर्दै प्रदूषण न्यूनीकरणका उपायहरूबारे धारणा राखेका थिए ।
कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत Arun Kumar Bhandari, अनुसन्धान समिति प्रमुख तथा प्राचार्य Hari Krishna Shrestha र सहप्राध्यापक Yagya Raj Pandey ले प्रस्तुत अनुसन्धानहरूको व्यावहारिक पक्षलाई अझ सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।










