News Portal

  • मध्यपुर थिमि–८ लाई अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा

    दोलागिरि संवाददाता२०८३ बैशाख २५
    ६६ पटक

    २०८३ बैशाख २५ । मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ लाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित भएको वडा घोषणा गरिएको छ। वडा समितिको निर्णयअनुसार शुक्रबार वैशाख २५ गते औपचारिक कार्यक्रममार्फत उक्त घोषणा गरिएको हो।
    बोदेस्थित बोदे माध्यमिक विद्यालय मा आयोजित कार्यक्रममा नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, वडा नं. २ का वडा अध्यक्ष तथा सामाजिक शाखा प्रमुख श्रीकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।
    अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ अनुसार गरिएको घरधुरी सर्वेक्षणमा १४ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको पुष्टि भएपछि वडा घोषणा गरिएको जनाइएको छ। वडाभित्रका सामुदायिक विद्यालयहरूले आधारभूत तहमा भर्ना, मासिक तथा परीक्षा शुल्क नलिएको तथा शिक्षा सुनिश्चितताका मापदण्ड पूरा गरेको उल्लेख गरिएको छ।
    घोषणापत्रमा वडा तथा नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, अभिभावक सचेतना, नियमित अनुगमन तथा वैकल्पिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। साथै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय छाडेका बालबालिकाको अभिलेख राखी पुनः भर्नाका लागि पहल गर्न आग्रह गरिएको छ।
    त्यसैगरी आर्थिक अवस्था कमजोर, दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ। स्थानीय समुदायलाई विद्यालय उमेर समूहका कुनै बालबालिका विद्यालय बाहिर रहेको जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह गरिएको छ।
    वडा नं. ८ ले अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्ने

    अभियानलाई निरन्तरता दिइने जनाएको छ। पछिल्ला वर्षहरूमा नेपालका विभिन्न स्थानीय तहहरूले पनि यस्ता घोषणा अभियानलाई तीव्रता दिएका छन्।

    प्रतिकृया दिनुहोस्