
भक्तपुर, सिपाडोल — सूर्यविनायक नगरपालिका वडा नं. ८ अन्तर्गत सिपाडोलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ। २०८३ साल बैशाख १६ गते बुधबार आयोजित समारोहमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्य रहेको थियो।

उद्घाटन कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए भने व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष पुष्पराज बस्नेतले कार्यक्रमको अध्यक्षता गरेका थिए। स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले स्थानीय नागरिकहरूको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकी निर्माण गरिएको बताएका छन्। यस चौकीबाट अब सिपाडोल क्षेत्रका बासिन्दाहरूले समयमै उपचार, स्वास्थ्य परामर्श तथा जनचेतनामूलक सेवाहरू प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।
बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउने, आधारभूतदेखि विशेषज्ञ सेवासम्म विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै यस्तो पूर्वाधार विकासलाई निरन्तरता दिने जनाएको छ।
“स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हो,” भन्ने सन्देशसहित कार्यक्रममा सबैलाई स्वास्थ्यप्रति सजग भई सेवा सदुपयोग गर्न आह्वान गरिएको थियो।
यस स्वास्थ्य चौकीको सञ्चालनसँगै स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ।











