News Portal

  • चौथो पटक जिब्रो सुजनलाई बागमती प्रदेश सरकारले २ लाख रुपैयाँ सहित सम्मान

    दोलागिरि संवाददाता२०८३ बैशाख ३
    ९ पटक

    भक्तपुरको मध्यपुर थिमि अन्तर्गत बोडेमा बिस्का जात्राको अवसरमा परम्परागत जिब्रो छेड्ने जात्रा भव्य रूपमा सम्पन्न भएको छ।

    प्रत्येक वर्ष नयाँ वर्षको दोस्रो दिन सिन्दुर जात्रा सकिएपछि यो विशेष जात्रा मनाउने चलन रहिआएको छ। यस वर्ष ३० वर्षीय सुजन बाग श्रेष्ठ ले चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन्। उनका बुवा र माइलो बुवाले पनि लामो समयसम्म यो परम्परा धानेका थिए, जसले यसलाई पुस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यास बनाएको छ।

    जिब्रो छेड्ने क्रममा करिब १० इन्च लामो फलामको सुइरो प्रयोग गरिन्छ, जसले सबैको ध्यान आकर्षित गर्ने गर्दछ। त्यसपछि सहभागीले महाद्वीप बोकेर नगर परिक्रमा गर्छन्। यो जात्राको धार्मिक र सांस्कृतिक महत्त्व गहिरो छ, जसले दुष्ट शक्तिहरूलाई हटाउने, रोगव्याधिबाट बचाउने, राम्रो बाली लगाउने र समृद्धि ल्याउने विश्वास गरिन्छ।

    किंवदन्ती अनुसार प्राचीन समयमा बोडे क्षेत्रलाई दुःख दिने पिशाचलाई नियन्त्रण गर्न तान्त्रिक विधिबाट जिब्रो छेडिएको घटनाबाट यो परम्परा सुरु भएको मानिन्छ।
    यस वर्ष बागमती प्रदेश सरकार ले सुजनलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। यसले सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरतामा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस्