
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ ले सरकारले इजरायल, कुबेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति खुलाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विप्लवले यस्तो निर्णयलाई “नागरिक जीवनप्रतिको अति लापरबाही र गैरजिम्मेवारीपूर्ण कदम” भन्दै आलोचना गरेका हुन्।
उनले भनेका छन् कि सरकार विदेशीएका युवालाई स्वदेश फर्काउने नारा लिएर आएको भए पनि व्यवहारमा उल्टो दिशामा अघि बढिरहेको देखिएको छ। युद्ध र अस्थिरता भइरहेका देशहरूबाट नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउनु पर्नेमा पुनः त्यहीँ पठाउने नीति अपनाउनु गलत भएको उनको तर्क छ।
विप्लवले प्रश्न उठाउँदै भनेका छन्, “यस्तो संवेदनशील निर्णय कस्को सल्लाह र बुद्धिमा गरिएको हो?” उनले यसलाई गम्भीर विषय भएको उल्लेख गर्दै सरकारलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
उनको धारणा अनुसार स्थायी शान्ति स्थापना नभएसम्म नेपाली युवालाई त्यस्ता जोखिमयुक्त देशमा पठाउनु उचित नहुने बताइएको छ। साथै उनले सरकारलाई नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।









