News Portal

  • भक्तपुर महोत्सवमा दर्शकको ओइरो, दुई दिनमै २० हजारभन्दा बढीको सहभागिता

    दोलागिरि संवाददाता२०८२ चैत्र २८
    २२ पटक

    भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा जारी ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’को दशौँ संस्करणमा दर्शकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। शुक्रबार र शनिबार मात्रै २० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन्।

    शनिबार सार्वजनिक बिदा परेकाले दर्शकको चाप बढेको र आइतबार अझ बढी भीड बढ्ने संकेत देखिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्। उनका अनुसार महोत्सव अवधिभर करिब ५ लाख दर्शकले अवलोकन गर्ने र विभिन्न स्टलमार्फत करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
    नयाँ वर्ष तथा बिस्का जात्राको अवसर पारेर आयोजना गरिएको उक्त महोत्सवको उद्घाटन बिहीबार साँझ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले गरेका थिए। औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा सञ्चालन भइरहेको महोत्सव नयाँ वर्षको ६ गतेसम्म, जम्मा ११ दिन सञ्चालन हुने संयोजक दीपक थापाले जानकारी दिए।

    महोत्सवमा १८० वटा स्टलहरू रहेका छन्, जहाँ दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, कृषि उत्पादन, हस्तकला, भाँडाकुँडा लगायतका सामग्रीहरू राखिएका छन्। साथै व्यापार र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित स्टलहरू पनि समावेश गरिएको छ।
    मनोरञ्जनतर्फ दैनिक राष्ट्रिय स्तरका कलाकारहरूबाट हास्यव्यङ्ग्य तथा सांगीतिक प्रस्तुति रहनेछ भने अन्तिम दुई दिन विशेष कन्सर्ट आयोजना गरिने प्रेस संयोजक हेमराज ढकालले बताए। महोत्सवमा रोटे पिङ, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, जादु, कोलम्बस लगायतका विभिन्न खेल तथा आकर्षणहरू राखिएका छन्। विशेष रूपमा लन्डन ब्रिजको प्रतिकृति दर्शकका लागि मुख्य आकर्षण बनेको छ।

    महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ भने जेष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
    आयोजकका अनुसार ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको भक्तपुरको पहिचानलाई महोत्सवले थप प्रचारप्रसार गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

    प्रतिकृया दिनुहोस्