News Portal

  • भक्तपुर विकास सहयोग संघद्वारा, शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन कार्यक्रम भब्यरुपमा सम्पन्न

    भक्तपुरमा उच्च शिक्षाको केन्द्र बन्ने संकेत : पाँच वर्षभित्र तीन विश्वविद्यालय स्थापना गर्ने तयारी

    दोलागिरि संवाददाता२०८२ चैत्र २८
    २४ पटक

    काठमाडौं । शिक्षा र बौद्धिक विकासको केन्द्रका रूपमा चिनिँदै आएको भक्तपुर अब अझ ठूलो शैक्षिक हब बन्ने संकेत देखिएको छ। भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रुकेश रञ्जित ले आगामी पाँच वर्षभित्र भक्तपुरमा तीन वटा विश्वविद्यालय स्थापना गर्ने योजना अगाडि बढिरहेको जानकारी दिएका छन्।


    भक्तपुर विकास सहयोग संघद्वारा आयोजित शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन तथा भक्तपुरबाट निर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि उठ्दै आएको ख्वप विश्वविद्यालयको माग अब पूरा हुने चरणमा पुगेको बताए। उनका अनुसार, उक्त विश्वविद्यालयसँगै थप दुई वटा नयाँ विश्वविद्यालय स्थापना गर्ने तयारी सरकारी स्तरमै भइरहेको छ, यद्यपि तिनको नाम भने अझै सार्वजनिक उनले गरेनन् ।

    कार्यक्रमकै अवसरमा संघले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक (विमोचन) गरेको थियो। साथै, भक्तपुर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा तथा समानुपातिक तर्फका सांसदहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा रुकेश रञ्जित, डा गंगालक्ष्मी अवाल, प्रमिला कुलुजु लगायत रहेका थिए। भक्तपुरमा विगत १५ वर्षदेखि उच्च शिक्षाको पहुँच विस्तारका लागि विश्वविद्यालय स्थापना आवश्यक रहेको बहस हुँदै आएको छ। अहिले आएको यो घोषणा त्यही मागको सम्भावित उपलब्धिका रूपमा हेरिएको छ।


    कार्यक्रममा बोल्दै सांसद डा गंगालक्ष्मी अवाल र प्रमिला कुलुजु ले भक्तपुरको समग्र विकासका लागि आफूहरू एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी, उज्ज्वलकुमार झाले भक्तपुरको विकास नमुनाबाट प्रेरित भएर महोत्तरीमा पनि त्यस्तै संस्था स्थापना गर्ने योजना सुनाए। उनले पहाड र मधेसबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।


    कार्यक्रममा स्थानीय समाजसेवी मञ्जित मल्लको योगदानको समेत उच्च प्रशंसा गरिएको थियो। उनलाई “भक्तपुरको हिरा” का रूपमा चित्रण गर्दै विभिन्न वक्ताहरूले उनको सामाजिक भूमिका उल्लेख गरेका थिए।
    यसै अवसरमा बाल सिक्का संकलक लक्ष्यजीत मल्ल र समृद्धि मल्ललाई विशेष पुरस्कार प्रदान गरिएको थियो, जसले कार्यक्रममा थप आकर्षण थपेको थियो।

    प्रतिकृया दिनुहोस्