News Portal

  • गन्तव्य मध्यपुर शुभारम्भ: थिमीलाई पर्यटकीय केन्द्र बनाउने अभियान सुरु

    दोलागिरि संवाददाता२०८२ चैत्र २३
    ६ पटक

    भक्तपुर, चैत २३ — मध्यपुर थिमी नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘गन्तव्य मध्यपुर शुभारम्भ’ कार्यक्रम आयोजना गर्ने भएको छ।

    नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चैत ३०, वैशाख १ र २ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा थिमीको मौलिक संस्कृति, जात्रा र परम्परासँग प्रत्यक्ष साक्षात्कार गराउने विविध कार्यक्रम समावेश गरिएको छ। कार्यक्रमअन्तर्गत चैत ३० गते दीपप्रज्वलनसहित सांस्कृतिक प्रस्तुति, वैशाख १ गते बालकुमारी जात्रा तथा वैशाख २ गते ऐतिहासिक बिस्का जात्रा आयोजना गरिने जनाइएको छ। यसका साथै परम्परागत धिमे बाजा प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी मेला तथा सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिनेछन्।

    काठमाडौं उपत्यकाको प्राचीन सांस्कृतिक नगरका रूपमा परिचित मध्यपुर थिमीमा ५०० भन्दा बढी मूर्त तथा अमूर्त सम्पदाहरू रहेका छन्। यहाँ मनाइने बिस्का जात्रा, सिन्दूर जात्रा, गाईजात्रा लगायतका मौलिक पर्वहरू पर्यटकका लागि मुख्य आकर्षण मानिन्छन्। नगरपालिकाले स्थानीय सीप, परम्परा र उत्पादन—जस्तै माटोका भाँडा, मुखुण्डो निर्माण, कृषि उत्पादन तथा हस्तकला—को प्रवर्द्धन गर्दै पर्यटनमार्फत रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।
    २०७४ सालपछि निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा थिमीलाई ‘पर्यटकीय गन्तव्य’का रूपमा विकास गर्ने योजनाअनुसार सञ्चालन गरिएका महोत्सव, सांस्कृतिक कार्यक्रम तथा पदयात्राले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि भएको पनि नगरपालिकाले जनाएको छ।

    नगरपालिकाले ‘गन्तव्य मध्यपुर’ अभियानमार्फत थिमीको ऐतिहासिक पहिचान, सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई विश्वसामु प्रस्तुत गर्दै दीगो पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्