News Portal

  • पाथिभरा एकेडेमीको आयोजनामा नेसनल प्याव्सनको साइन्स एण्ड रोबोटिक एक्जिबिसन सम्पन्न

    दोलागिरि संवाददाता२०८२ चैत्र १
    ३० पटक

    भक्तपुर, चैत्र १ – नेसनल प्याव्सन भक्तपुरको वार्षिक कार्यक्रम अन्तर्गत पाथिभरा एकेडेमी स्कुलको आयोजनामा साइन्स एण्ड रोबोटिक एक्जिबिसन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगिता आधारभूत तह र माध्यमिक तह गरी दुई श्रेणीमा आयोजना गरिएको थियो।

    आधारभूत तह अन्तर्गत भएको प्रतियोगितामा क्वालिटी स्कुल विजेता बन्न सफल भएको छ भने विमल मेमोरियल स्कुल प्रथम उपविजेता बनेको छ। त्यसैगरी मदरल्याण्ड स्कुल र संस्कार गुरुकुल स्कुलका विद्यार्थी समूह संयुक्त रूपमा दोस्रो उपविजेता भएका छन्।

    त्यस्तै माध्यमिक तहको प्रतियोगितामा विमल मेमोरियल स्कुल विजेता बनेको छ भने संस्कार गुरुकुल स्कुल प्रथम उपविजेता र मदरल्याण्ड स्कुल दोस्रो उपविजेता बन्न सफल भएको छ।
    विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारतर्फ प्रेरित गर्दै उनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

    पाथिभरा एकेडेमीका प्रिन्सिपल रमेश प्रसाद सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटवाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले विजेता विद्यार्थी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

    कार्यक्रममा बोल्दै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाथिभरा एकेडेमीले आयोजना गरेको साइन्स एण्ड रोबोटिक एक्जिबिसन प्रतियोगिता शैक्षिक वर्ष २०८२ को अन्तिम कार्यक्रम रहेको जानकारी दिनुभयो। उहाँले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।

    अध्यक्ष खड्काले नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सबै सदस्य विद्यालयहरूले वर्षभरि विभिन्न शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्न सहयोग र साथ दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

    प्रतिकृया दिनुहोस्