
भक्तपुर — स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको अध्यक्षमा रेणु त्वानाबासु चयन भएकी छन्। संघको बुधबार भक्तपुरमा सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले त्वानाबासुको अध्यक्षतामा सात सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा विकुराम तजले, सहसचिवमा राजन कार्की, कोषाध्यक्षमा प्रेमध्वज मोक्तान तथा सदस्यहरूमा राजाराम नापित र सुनिल दुवाल चयन भएका छन्।
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघको केन्द्रीय अधिवेशन आगामी फागुन २४ गते स्थापना दिवसको अवसर पारेर नवलपरासीमा आयोजना हुने जानकारी गराए। उनले पत्रकारिताको स्वतन्त्रता, पेशागत मर्यादा र सत्य–तथ्यमा आधारित समाचार प्रवाह आजको आवश्यकता भएको उल्लेख गर्दै पत्रकारहरू कुनै पनि दबाब, प्रभाव र प्रलोभनबाट मुक्त भई जनताको पक्षमा उभिनुपर्ने बताए।
कार्यक्रममा संघका ललितपुर जिल्ला अध्यक्ष उपेश नौवाग, भक्तपुरका निवर्तमान अध्यक्ष सुरेश सैंजू, पोखराका पूर्व अध्यक्ष कृष्ण रानाभाट, भक्तपुरका सल्लाहकार कृष्ण किसीलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै “पत्रकार बन्नु त स्वतन्त्र बन्नु हो, स्वतन्त्र नै हो पत्रकार” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै अघि बढ्नुपर्नेमा जोड दिए।
वक्ताहरूले स्वतन्त्र पत्रकारितामाथि बढ्दो दबाब, चुनौती र जोखिमप्रति चिन्ता व्यक्त गर्दै संघले पत्रकारहरूको हक–हित, सुरक्षा र पेशागत अधिकारका लागि अझ सशक्त भूमिका खेल्नुपर्ने धारणा राखे।
अधिवेशनले आगामी कार्यकालमा पत्रकारहरूको क्षमता अभिवृद्धि, संगठन विस्तार तथा स्वतन्त्र पत्रकारिताको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णयसमेत गरेको छ।










