
काठमाडौं, पुस २१ — अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमणको प्रगतिशील लेखक सङ्घ, नेपाल (प्रलेस) ले कडा भर्त्सना गरेको छ। प्रलेसका अनुसार पुस १८ गते राति अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिकाको बन्दी शिविरमा पुर्याएको घटनाले अमेरिकी साम्राज्यवादको वास्तविक चरित्र उजागर गरेको छ।
प्रलेसले जारी गरेको विज्ञप्तिमा भेनेजुएला संसारकै सबैभन्दा ठूलो पेट्रोलियम भण्डार भएको देश भएको उल्लेख गर्दै पहिले त्यहाँको पेट्रोलियम क्षेत्रमा अमेरिकी एकाधिकारवादी पुँजीवादी कम्पनीहरूको प्रभुत्व रहेको जनाएको छ। समाजवादी सरकार स्थापना भएपछि ती अमेरिकी कम्पनीहरू राष्ट्रियकरण गरिएसँगै अमेरिकाले भेनेजुएलाको सरकार अपदस्थ गरी आफ्नो कठपुतली सरकार स्थापना गर्न निरन्तर प्रयास गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकाले लामो समयदेखि भेनेजुएलामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको र त्यसका कारण पेट्रोलियम बिक्रीमा ठूलो अवरोध सिर्जना भई देश गम्भीर आर्थिक सङ्कटमा फसेको प्रलेसको ठहर छ। पछिल्लो समय अमेरिकाले भेनेजुएलालाई ‘ड्रग्स तस्करीलाई प्रोत्साहन गरेको’ आरोप लगाउँदै सोही बहानामा सैन्य आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ।
प्रलेसका अनुसार अमेरिकी साम्राज्यवाद आज विश्व शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि गम्भीर खतरा बनेको छ। अमेरिकाको युद्धनीतिले विश्वभर युद्धको वातावरण सिर्जना गरिरहेको र तेस्रो विश्वयुद्धको सम्भावना बढ्दै गएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यदि आजको युगमा विश्वयुद्ध भयो भने त्यसले आणविक रूप लिन सक्ने र त्यसबाट सम्पूर्ण मानव जाति नै नष्ट हुने गम्भीर खतरा रहने चेतावनी प्रलेसले दिएको छ।विज्ञप्तिमा भेनेजुएलामाथिको आक्रमण केवल एक देशको समस्या नभई विश्व शान्ति र सम्पूर्ण मानव जातिको सुरक्षासँग जोडिएको विषय भएको उल्लेख गर्दै जुनसुकै देशमा अमेरिकाले यस प्रकारको हस्तक्षेप गरे त्यसको विरुद्ध विश्वका शान्तिप्रेमी, स्वतन्त्रताप्रेमी र लोकतन्त्रप्रेमी जनता तथा प्रगतिशील स्रष्टाहरू एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने धारणा व्यक्त गरिएको छ।
अन्त्यमा प्रलेसले भेनेजुएलामाथि गरिएका सबै प्रकारका सैन्य हस्तक्षेप र कारबाही तत्काल रोक्न तथा राष्ट्रपति निकोलस मदुरोलाई बिनासर्त रिहा गर्न जोडदार माग गरेको छ।
विज्ञप्तिमा महासचिव पारस ढकाल र अध्यक्ष डा. देवी क्षेत्री दुलालको हस्ताक्षर रहेको छ।











