
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था अहंकार, त्रास र षड्यन्त्रमा आधारित रहेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा उहाँले स्वाधीनता, श्रमजीवी वर्ग र जनताको पक्षमा उठ्ने आवाजमाथि राज्यले निरन्तर दमन गर्दै आएको बताउनुभएको हो।
विप्लवका अनुसार एमसीसी विरुद्ध स्वाधीनताको पक्षमा संघर्ष गर्दा राज्यले गोली चलाउने, जेल हाल्ने र राजनीतिक मुद्दा थोपर्ने गरेको छ। त्यस्तै श्रमजीवी वर्ग, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व हुने जनताको राज्य निर्माणको प्रस्ताव गर्दा समेत राज्य दमनमा उत्रिएको उहाँको भनाइ छ।
उहाँले श्रम गरेर आलु फलाउँदा राज्य बम खोज्दै हिँड्ने गरेको उदाहरण प्रस्तुत गर्दै शान्तिपूर्ण श्रम र उत्पादनलाई समेत अपराधीकरण गर्ने प्रवृत्ति राज्यमा हावी भएको टिप्पणी गर्नुभएको छ। साथै चुनावी प्रक्रियामा जाने भनाइ सार्वजनिक गर्दा गाउँ–गाउँमा छापा मार्ने, त्रास सिर्जना गर्ने र राजनीतिक गतिविधिमा हस्तक्षेप गर्ने कार्य भइरहेको उल्लेख गर्नुभएको छ।
विप्लवका अनुसार यी सबै घटनाक्रमले वर्तमान राज्य जनताको पक्षमा नभई सत्ता जोगाउने डर, अहंकार र षड्यन्त्रको संरचनामा अडिएको स्पष्ट पार्छ। यस्तो राज्यले श्रम, स्वाधीनता र जनअधिकारको सम्मान गर्न नसक्ने उहाँको ठहर छ।
उहाँले यो अवस्थाबाट देशलाई निकास दिन राज्य संरचनामै आमूल परिवर्तन आवश्यक रहेको भन्दै जनताको प्रत्यक्ष सहभागिता, श्रमजीवी वर्गको नेतृत्व र उत्पीडित समुदायहरूको एकतामार्फत मात्रै राज्यलाई वास्तविक जनताको राज्यमा रुपान्तरण गर्न सकिने जोड दिनुभएको छ। उहाँको यो अभिव्यक्ति पछिल्लो समय देखिएको राजनीतिक असन्तोष, राज्य–जनताको टकराव र वैकल्पिक राजनीतिक दिशाबारे चलिरहेको बहससँग जोडिएको छ।










