
भक्तपुर, पौष ५
सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित ईडेन गार्डेन इङ्ग्लिस स्कुलको आयोजनामा ईडेन गार्डेन शैक्षिक प्रदर्शनी–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा निहित विज्ञान सामाजिक अध्ययन र चित्रकलासम्बन्धी सिर्जनशीलता नवप्रवर्तनशील सोच तथा अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनी शैक्षिक दृष्टिले अत्यन्तै अर्थपूर्ण प्रेरणादायी र उपलब्धिमूलक रहेको विद्यालयले जनाएको छ।

विद्यालयस्तरमै विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने, अनुसन्धानमुखी सोच विकास गर्ने, सिर्जनशील अभिव्यक्ति प्रस्तुत गर्ने तथा आत्मविश्वासका साथ आफ्ना विचार सार्वजनिक रूपमा राख्न सक्ने क्षमता विकास गराउने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो।

प्रदर्शनीमा करिब ६५० भन्दा बढी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको आफ्नै सोच, सिर्जना, परिश्रम र कल्पनाशीलताका आधारमा तयार पारिएका विज्ञानका प्रयोगात्मक सामग्री, सामाजिक अध्ययनसम्बन्धी परियोजनाहरू तथा विविध कलात्मक कृतिहरू प्रत्यक्ष अवलोकन गर्दै विद्यार्थीहरूको सिकाइप्रतिको उत्साह र क्षमतालाई नजिकबाट अनुभूति गरेका थिए।
कार्यक्रम सफल बनाउन अहोरात्र मेहनत गरी उत्कृष्ट सामग्रीहरू तयार गर्ने प्रतिभावान विद्यार्थीहरू, निरन्तर मार्गदर्शन र सहकार्य प्रदान गर्ने समर्पित शिक्षक–कर्मचारीहरू, तथा प्रदर्शनी अवलोकन गरी विद्यार्थीहरूको आत्मविश्वास र मनोबल उच्च बनाउने सम्पूर्ण अभिभावक तथा शुभचिन्तकहरूप्रति इडेन गार्डेन परिवारको तर्फबाट विद्यालयका सह–प्रिन्सिपल अनिश राईले हार्दिक आभार व्यक्त गर्नुभएको थियो।
प्रदर्शनीबारे आफ्नो धारणा व्यक्त गर्दै सह–प्रिन्सिपल राईले यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, सिर्जनशील सोच, समस्या समाधान क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिने विद्यालयको लक्ष्य रहेको जानकारी पनि उहाँले दिनुभयों ।









