
कैलाली । अखिल नेपाल महिला संघ क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिको तेस्रो पूर्ण बैठक प्रदेश संयोजक सुनिता सीको अध्यक्षतामा तथा संगठनका केन्द्रीय महासचिव राजकुमारी सीको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सी विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै पार्टीका केन्द्रीय समिति सदस्य (CCM) लगायत विभिन्न तहका पार्टी नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकले “परनिर्भरता र महिला उत्पीडनविरुद्ध हाम्रो आन्दोलन” तथा “राष्ट्रिय स्वाधीनता र समाजवादको पक्षमा आठौँ राष्ट्रिय सम्मेलन” भन्ने मूल नारालाई आत्मसात् गर्दै संगठनको आगामी कार्यदिशा तय गरेको छ। आठौँ राष्ट्रिय सम्मेलनलाई सफल पार्न प्रदेशस्तरमा व्यापक तयारी गर्ने निर्णय बैठकले गरेको छ।
तेस्रो पूर्ण बैठकमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, महिला आन्दोलनको ऐतिहासिक भूमिका, संगठनात्मक सुदृढीकरण, वर्गीय संघर्षमा महिलाको अग्रसरता र जनआन्दोलनलाई थप सशक्त बनाउने विषयमा गम्भीर छलफल गरिएको थियो। छलफलका क्रममा महिलामाथि भइरहेका संरचनागत उत्पीडन, पितृसत्तात्मक शोषण र परनिर्भर अर्थ–राजनीतिक संरचनाविरुद्ध संगठित संघर्ष आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
बैठकले संगठन विस्तार, राजनीतिक तथा वैचारिक प्रशिक्षण, जनआधारित अभियान सञ्चालन र महिला आन्दोलनलाई जनस्तरसम्म लैजाने विषयमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। साथै आठौँ राष्ट्रिय सम्मेलनको तयारीका लागि प्रदेशदेखि आधार तहसम्म सक्रियता बढाउने निर्णयसमेत गरिएको छ।
उक्त बैठक २०८२ साल पुष ३ गते कैलालीको अत्तरिया क्षेत्रमा उत्साहपूर्ण र संघर्षशील वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको हो।


















