News Portal

  • गृहमन्त्री अर्यालद्वारा भक्तपुर प्रशासन कार्यालयको निरीक्षण, पुनर्निर्माण र सुरक्षामा जोड

    दोलागिरि संवाददाता२०८२ आश्विन ३०
    ६४ पटक

    भक्तपुर, असोज ३० – गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा आगलागी भएर क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरको बिहीबार निरीक्षण गरेका छन्।

    निरीक्षणका क्रममा मन्त्री अर्यालले कार्यालयको भवन, फाइल तथा अभिलेखहरूको क्षतिको विस्तृत अवस्था अवलोकन गर्दै तत्काल पुनर्निर्माण र सुरक्षात्मक व्यवस्थाको बलियो संयन्त्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    उनले सरकारी संरचनामाथि भएको क्षतिको घटनालाई गम्भीर रूपमा लिँदै राज्यका सम्पत्ति जनताको सम्पत्ति भएकाले यसको सुरक्षा सबैको साझा जिम्मेवारी हुने बताएका छन्। मन्त्री अर्यालले स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित प्राविधिक टोलीसँग छलफल गर्दै सेवाग्राहीलाई सहज र सुरक्षित रूपमा सेवा पुनः सञ्चालन गर्न आवश्यक व्यवस्थाका लागि निर्देशनसमेत दिएका छन्।

    यस अवसरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रतिनिधिहरू पनि उपस्थित थिए। निरीक्षणपछि मन्त्री अर्यालले केही समय कार्यालय परिसरमा रहेका कर्मचारीहरूसँग कुराकानी गर्दै उनीहरूको समस्या र सुझाव सुनेका थिए।

    भदौ महिनामा भएको ‘जेन जी’ आन्दोलनका क्रममा भएको आगलागीबाट भक्तपुर प्रशासन कार्यालयको भवन र अभिलेख कक्षमा उल्लेख्य क्षति पुगेको थियो। अहिले प्राथमिक सरसफाइ र अस्थायी कार्य सञ्चालन हुँदै आएको जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0