
काठमाडौँ । तिहारको अवसर पारेर नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा तेस्रो तिहार फ्लोरा एक्स्पो–२०८२ काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको छ । “तिहारको उत्सव, फूलको महोत्सव” भन्ने मूल नाराका साथ आयोजना हुने यो प्रदर्शनी आगामी २०८२ असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुनेछ ।
चार दिनसम्म चल्ने यस महोत्सवमा सयपत्री, मखमली, गोदावरी लगायतका १५० भन्दा बढी प्रजातिका फूल, साथै फलफूल, जडिबुटी, कृषि तथा वनका बिरुवाहरू एकै ठाउँमा प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् ।
कार्यक्रममा घर, आँगन, कार्यालय तथा बगैँचाको सुन्दरता बढाउने सबै प्रकारका फूल र बिरुवाहरू विशेष छुटमा उपलब्ध गराइने छन् । साथै कृषि औजार, प्रविधि, गमला, मलखाद, बिउ, बिषादी आदिको पनि बिक्री–प्रदर्शनी हुनेछ ।
त्यसका साथै आगन्तुकहरूले निशुल्क प्राविधिक परामर्श सेवा लिन सक्नेछन् ।
एक्स्पोको मुख्य आकर्षणमा गोदावरी, मखमली र सयपत्री फूलका प्रतिस्पर्धात्मक स्टलहरू रहनेछन्, जसले दर्शक तथा ग्राहकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
आयोजक नर्सरी व्यवसायी संघ नेपालका अनुसार नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै नर्सरी व्यवसायको विस्तार, फूल–बोटबिरुवा प्रेमीहरूलाई प्रोत्साहन र हरियाली संस्कृति फैलाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
आयोजकहरूले सबैलाई परिवारसहित भृकुटीमण्डपमा आइ फूल, विरुवा र हरियालीको संसार अवलोकन गर्न आग्रह गरेका छन् ।


















