
२०८२ असाज ५ काठमाडौं । प्रगतिशील लेखक संघ, नेपालले ७४ औं प्रलेस स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । “वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरुको भूमिका र सहकार्य” भन्ने विषयमा आयोजित विचार गोष्ठीमा विभिन्न वामपन्थी दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मालेका महासचिव सिपि मैनाली, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा, माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईं, नेकपाका केन्द्रीय सदस्य भृकुटी सी, नेकपा मसालका केन्द्रीय सदस्य मिना पुन, नेकपा सचिवालय सदस्य लक्ष्मण उप्रेतीलगायत नेताहरुले आफ्नो विचार राख्नुभयो ।
बक्ताहरुले नेपालमा वाम आन्दोलनका उपलब्धि र चुनौतीबारे चर्चा गर्दै वर्तमान अवस्थामा एउटै कम्युनिष्ट केन्द्र र समाजवादी केन्द्र निर्माण गर्नुपर्ने आवश्यकतालाई विशेष रूपमा जोड दिनुभयो । उहाँहरुले विभाजित वाम शक्तिहरुबीच सहकार्य र एकतालाई अपरिहार्य ठहर गर्दै सामूहिक मोर्चा बनाएर मात्र मुलुकलाई राजनीतिक स्थायित्व र सामाजिक रुपान्तरणतर्फ अघि बढाउन सकिने निष्कर्ष प्रस्तुत गर्नुभयो ।
त्यसैगरी, भ्रष्ट संस्कृतिविरुद्ध सम्पूर्ण राजनीतिक दल, बौद्धिक वर्ग र आम नागरिक एकसाथ लाग्नुपर्नेमा जोड दिइएको थियो । हालसम्म भएका भ्रष्टाचार प्रकरणहरुको छानबिन गर्न नागरिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राखियो । सहभागी नेताहरुले भ्रष्टाचार उन्मूलन, सामाजिक रुपान्तरण र समानतामूलक समाज निर्माणका लागि सबैले सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता डा. देवी प्रसाद क्षेत्रीले गर्नुभयो भने सञ्चालन पारश ढकालले गर्नुभएको थियो ।
