News Portal

  • भक्तपुरको मालपोत कार्यालयमा भ्रष्टाचारीहरूको जगजगी

    दोलागिरि संवाददाता२०८२ भाद्र १९
    ६५ पटक

    भादौं २०८२ । मक्तपुर मालपोत कार्यालयमा केही लेखापढी व्यवसायी र मालपोतका कर्मचारीहरूको मिलेमतोमा अनियमित र भ्रष्टाचार रोकिएको छैन ।

    २०८२ असार ३१ गते मालपोत कार्यालय भक्तपुरका तत्कालीन प्रमुख कुमार आचार्य अख्तियारले चलाइएको स्टिङ अपरेसनमा नगदसहित पक्राउ परे। उनी चाँगुनारायणस्थित १४ रोपनी ४ आना जग्गा लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी पुर्जा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार घुस लिंदै गर्दा पक्राउ परेका हुन् ।

    केही समयअगाडि एउटा समाचार माध्यम नेपाल प्रेस सोसाइटीमा मालपोत कार्यालय भक्तपुरका नायव सुब्बाः डम्बरबहादुर कार्कीले छुट जग्गा दर्ता र नामसारीको लागि आउने सेवाग्राहीसँग हाकाहाकी घुस माग्ने गरेको समाचार पनि प्रकाशित भएको थियो । समाचारअनुसार उनले घुस नदिने सेवाग्राहीको फाइल लुकाइदिने, हराइदिने

    र अनावश्यक झन्‌झट सिर्जना गर्ने गरेका छन्। कार्कीले मालपोत कार्यालयका चिठी र फाइलहरूसमेत व्यक्तिगत झोलामा बोकेर लैजाने गरेको बुझिएको छ ।

    मालपोत कार्यालय भक्तपुरमा अहिले पनि जनताका यस्ता समस्या यथावत छन् । घुस खान पाए काम हुने नभए तारेखमा राख्ने भइरहेको छ ।

    एक सेवाग्राहीले आफ्‌नो बाउबाजेको नाउँमा रहेको छुट जग्गा दर्ता गराउन अनेक हन्डर खाएको गुनासो पोखें। मालपोत कार्यालय भक्तपुरमा पाइला पाइलामा घुस बुझाउनु परेको गुनासो उनको रह्यो । गोरखापत्रमा ३५ दिने सूचना प्रकाशित गर्नको लागि पनि मालपोतका कर्मचारीले बिचौलिया देखाउने गरेको र लाग्ने दस्तुरभन्दा बढी मागेर दुःख दिने गरेको उनले बताए ।

    अर्का एक सेवाग्राही भन्छन्, “मालपोत कार्यालय भक्तपुरबाट जग्गाको स्थलगत सरजमिन गर्न आउन पनि मालपोतका कर्मचारी सुरुमा मानेनन् । स्थलगत सरजमिन गर्नको निम्ति ३ जना

    कर्मचारीलाई जनही रु. २५ हजारको दरले रु. ७५ हजार घुस विचौलियामार्फत माग गरे। यसबारे हल्लीखल्ली भएपछि बलर मालपोतका कर्मचारीले फिल्डमा आएर सर जमिन गरिदिए। अब फाइल अन्तिम चरणमा पुगेको छ। तर, मालपोत कार्यालयका कर्मचारीले घुस नदिई दर्ता नगर्ने प्रपञ्च गरेका छन् । भोलि भोलि भन्दै झुल्याइरहेका छन् । हामी गरिबसँग घुस खुवाउने पैसा छैन । मेरो फाइलै हराइदिने हो कि भन्ने चिन्ता लागेको छ ।”

    एकपटक भक्तपुरका एक मालपोत अधिकृतले “हामीले खाएको घुस राष्ट्रपतिकहाँ पुग्छ कि पुग्दैन थाहा छैन, प्रधानमन्त्रीसम्म जरुर पुग्छ” भनेका थिए ।

    चीनको हुनानमा चिनियाँ जनताले भ्रष्टाचारीको अनुहारमा कालोमोसो दलेर चुच्चो टोपी लगाइदिएर गाउँ घुमाएका थिए। भक्तपुरमा पनि भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गराइएको इतिहास छ । के मालपोत कार्यालयका भ्रष्ट कर्मचारीलाई जनताले सजाय दिनुपर्ने भयो ? श्रोत  मजुर पत्रिका दैनिक  २०८२भादौं बिहिबार ।

    प्रतिकृया दिनुहोस्