News Portal

  • बेइजिङ परेडलाई ट्रम्पको आलोचना : अमेरिकाविरुद्ध ध्रुवीकरणको संकेत

    दोलागिरि संवाददाता२०८२ भाद्र १८
    ६२ पटक

    बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्तिको ८०औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको भव्य सैन्य परेड अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा मुख्य बहसको विषय बनेको छ। कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ–उन र इरानी राष्ट्रपति मसउद पेजेश्कियन एउटै मञ्चमा उपस्थित भएका दृश्यलाई वाशिङ्टनले गम्भीर रूपमा लिएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “अमेरिकाविरुद्धको ध्रुवीकरण” को संकेतका रूपमा व्याख्या गर्दै कडा आलोचना गरेका छन्। उनका अनुसार, चीन, रूस, उत्तर कोरिया र इरानबीचको सहकार्य क्रमशः अमेरिकाविरुद्ध उन्मुख रणनीतिक गठबन्धनमा परिणत हुँदै गएको छ।

    त्यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि शाङ्घाइ कोअपरेसन अर्गनाइजेशन (SCO) को शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ पुगेका थिए। उनले राष्ट्रपति पुटिन र राष्ट्रपति सी जिनपिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। विश्लेषकहरूको भनाइमा, यस भेटवार्तालाई वाशिङ्टनले विशेष सन्देशको रूपमा लिएको छ।

    भूराजनीतिक पृष्ठभूमि झन् जटिल बन्दै गएको छ। युक्रेन युद्ध जारी रहँदा उत्तर कोरियाबाट रूसलाई हतियार आपूर्ति भइरहेको, भारतले रूसी तेल निरन्तर खरिद गरिरहेको र चीन–रूस नजिकिँदै गएको अवस्थाले परेडलाई अझै संवेदनशील बनाएको छ। यसले क्षेत्रीय तथा विश्व राजनीतिमा ध्रुवीकरण तीव्र भएको विश्लेषण गरिन्छ।

    तर राष्ट्रपति ट्रम्पले अमेरिकाको सैन्य क्षमताबारे आत्मविश्वास प्रकट गर्दै भनेका छन्, “अमेरिका संसारकै सबैभन्दा शक्तिशाली सेना भएको मुलुक हो, कुनै देशले अमेरिकामाथि आक्रमण गर्न सक्दैन।”

    यस परेडलाई लिएर विश्वका ठूला शक्ति राष्ट्रबीचको सम्बन्ध थप तिक्त हुँदै गएको संकेत अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट देखिएको छ।

    प्रतिकृया दिनुहोस्