
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँग भेटवार्ता गर्दै रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
भेटका क्रममा उनले लामिछानेविरुद्ध सहकारी प्रकरणमा देखाइएको ‘अनावश्यक दबाब र अन्यायपूर्ण व्यवहार’ प्रति आपत्ति जनाउँदै एउटै मुद्दामा फरक-फरक ढंगले व्यवहार गरिएकोमा गुनासो पोखिन्।
भण्डारीले भनिन्, “राज्यले समस्याको वास्तविक समाधान खोज्नुको सट्टा व्यक्तिलाई लक्षित गरेर दुःख दिनु उपयुक्त छैन। सहकारी जस्तो गम्भीर विषयलाई निष्पक्ष ढंगले समाधान गर्नु जरुरी छ।”
त्यसैगरी उनले आफ्नो राजनीतिक भूमिकाबारे पनि प्रष्ट पार्दै, अब सक्रिय राजनीतिमा नफर्कने बताइन्। उनले एमालेभित्र काम गर्न चाहेको तर त्यसो गर्न रोक लगाइएको अनुभव भएको भन्दै असन्तुष्टि प्रकट गरिन्।
पूर्व राष्ट्रपति भण्डारी र रास्वपा प्रवक्ता झाबीचको भेटलाई राजनीतिक वृत्तले सन्देशमूलक रूपमा लिएको छ। पछिल्लो समय सहकारी प्रकरणलाई लिएर रवि लामिछाने र रास्वपा निरन्तर विवादमा तानिँदै आएका बेला भण्डारीको अभिव्यक्ति चर्चाको विषय बनेको छ।
