News Portal

  • युवामा उद्यमशीलता र नेतृत्व विकासका लागि राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५ हुदैं’

    दोलागिरि संवाददाता२०८२ भाद्र ६
    ९१ पटक

    काठमाडौँ । युवामा उद्यमशीलता र नेतृत्व विकासका लागि राजधानीमा शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ। युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ तथा म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ।

    कार्यक्रम संयोजक राजु टण्डनका अनुसार कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, व्यवस्थापकीय तथा औद्योगिक सीप प्रदान गर्दै अवसर सिर्जना, बौद्धिक पलायन रोक्न तथा प्राज्ञिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

    शनिबार बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा कलाकार हरिवंश आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। साथै, कार्यक्रममा एम.एम.ए खेलाडी रबिन्द्र ढाँट ‘गेस्ट अफ अनर’, गायक **दुर्गेश थापा ‘परफर्मर अफ द इयर’**का रूपमा सम्मानित हुनेछन्। त्यस्तै, **सिजन बानिया ‘केवाइसी–२०२५ युथ आइकन’**बाट सम्मानित गरिनेछ।

    कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका ए.आ.जी. दानबहादुर कार्की, क्रिकेटर पारस खड्का, हाँस्य कलाकार सन्दीप क्षेत्री, निर्देशक प्रदिप लामा, र्यापर ओ.एम.जी. स्पार्क, एलजीबीटीक्यु अधिकारकर्मी रुक्सना कपाली, महिला क्रिकेटर इन्दु वर्मा, गायक-गायिका भेक, खेम संग्रौला, ओसीन कार्की र लक्ष्मी आचार्यलगायतका व्यक्तित्वको उपस्थिति रहनेछ।

    गीत–संगीत, हास्यव्यङ्ग्यसहित ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, प्रेरणादायी विचार र अनुभव प्रस्तुत गर्ने कन्क्लेभले विद्यार्थीलाई सही करियर मार्गदर्शन गर्ने, सामाजिक संलग्नतामा उत्प्रेरित गर्ने र परम्परागत शिक्षण प्रणालीमा आवश्यक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

    २०७६ सालदेखि सुरु गरिएको यो कार्यक्रमको यस वर्ष छैटौँ संस्करण हो। आयोजकका अनुसार कन्क्लेभलाई हरेक वर्ष निरन्तरता दिइनेछ।

     

    प्रतिकृया दिनुहोस्