
काठमाडौं । चीनका विदेश मन्त्री वाङ यीको हालैको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरसँग भएको वार्तापछि सार्वजनिक १२ बुँदे सहमतिको ९ नम्बर बुँदामा नेपाली भूमि लिपुलेक पाससहित शिम्किला र नाथुला पासमार्फत सिमापार व्यापार पुनः सुरु गर्ने सहमति भएको समाचार सार्वजनिक भएको छ ।
उक्त सहमतिको विषयमा नेपाल कम्युनिस्ट पार्टीले कडा आपत्ति जनाएको छ । पार्टीले विज्ञप्ति जारी गर्दै नेपाल र नेपाली जनतालाई जानकारी नै नदिई नेपालको सार्वभौम भूभाग प्रयोग गरी व्यापार पुनः सुरु गर्ने सहमति गर्नु चीन र भारत दुवै देशको “अहंकारी, हस्तक्षेपकारी र अतिक्रमणकारी प्रवृत्ति” भएको ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामाथि भएको यस आक्रमणको हाम्रो पार्टी घोर निन्दा र कडा भर्त्सना गर्दछ।”
पार्टीले चीन र भारत सरकारलाई सो अन्यायपूर्ण र राष्ट्रघाती सहमति तत्काल फिर्ता लिन विशेष अपिल गरेको छ । साथै, नेपाल सरकारले पनि राष्ट्रको स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्दै सो सहमति खारेज गर्न आवश्यक पहल तत्काल लिन जोडदार माग गरेको छ ।
