
काठमाडौं । नाडा अटो शो–२०२५ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको औपचारिक उद्घाटन गरेका हुन् ।
नाडा अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार, यो अटो शोले नेपालकै कुल अटोमोबाइल्स व्यापारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । उनले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै १० लाखभन्दा बढी रोजगारी सिर्जना गरेको र करिब ३ हजार व्यवसायीलाई एकीकृत गरेको बताए ।
उनका अनुसार, “नाडा यस्तो संस्था हो जसले ९० प्रतिशत अटो व्यवसायीको प्रतिनिधित्व गर्छ । हामी सीप र रोजगारी दुवै सिर्जना गर्छौं ।” उनले सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट अघिल्ला १० वर्षभन्दा राम्रै भएको उल्लेख गर्दै आगामी मौद्रिक नीतिबाट पनि अटोमोबाइल क्षेत्रलाई थप सहयोग हुने अपेक्षा व्यक्त गरे ।
अध्यक्ष चौधरीले नेपालमै पार्टपुर्जा उत्पादन हुन सके अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा लैजान सकिने बताए ।
यसपटकको नाडा अटो शोमा पहिलोपटक ह्युमनोइड रोबोट र उड्ने कार समेत प्रदर्शनीमा राखिएका छन्, जसले अवलोकनकर्तामाझ विशेष आकर्षण थपेको छ ।
नाडा अटो शो–२०२५ आजदेखि ६ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
