News Portal

  • विद्युत् प्राधिकरणको १ खर्ब ३८ अर्ब कारोबार, करअघिको नाफा ९ अर्ब

    दोलागिरि संवाददाता२०८२ भाद्र २
    १७ पटक

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। सो अवधिमा प्राधिकरणले करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ।

    प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार नाफामा कमी हुनुको कारण विदेशी मुद्रा (जापानी यन) को अधिमूल्यन, प्रशासनिक खर्च वृद्धि र औसत विद्युत् बिक्री मूल्य घट्नु रहेको छ। यद्यपि उनले आगामी वर्षमा नाफा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

    आर्थिक वर्षको अन्त्यसम्म राष्ट्रिय विद्युत् प्रणालीमा ३५९१ मेगावाट जडान क्षमता पुगेको छ। कुल १५ हजार ६ सय ४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएकोमा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र उत्पादकको ५५ प्रतिशत र भारतबाट आयात ११ प्रतिशत रहेको छ।

    सो अवधिमा भित्री विद्युत् खपत १०.७ प्रतिशतले बढ्दै ११ हजार ३१९ गिगावाट घण्टामा पुगेको छ। प्राधिकरणले प्रणालीमा थप ४३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप्न सफल भएको छ।

    नाफामा केही कमी आए पनि राष्ट्रिय ग्रिड पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने विद्युत् चुहावट ०.४७ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ। हाल प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

     

    प्रतिकृया दिनुहोस्