
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा शुक्रबार राजधानी काठमाडौंमा आयोजित एमसीसी विरोध प्रदर्शनमा पार्टीका पोलिटब्यूरो सदस्य माईला सीले एमसिए (MCA) नेपालका प्रमुख खड्गबहादुर विष्टलाई कठोर चेतावनी दिएका छन्।
एमसीसीको कार्यान्वयनविरुद्ध आयोजित प्रदर्शनपश्चातको कोणसभालाई सम्बोधन गर्दै उनले भने, “एमसिए प्रमुख खड्गबहादुर विष्टको हिसाब–किताब नेपाली जनताले एक दिन अवश्य गर्नेछन्। त्यो दिन उसले भयंकर मृत्यु मर्नुपर्नेछ। इतिहासले देश बेच्नेहरूलाई कहिल्यै माफ गरेको छैन, यो पनि अपवाद हुने छैन।”
उनले भारतको सिक्किमका तत्कालीन शासक लेनडुप दोर्जेको अवस्थाको उदाहरण दिंदै भने, “स्वार्थका लागि देशलाई विदेशी साम्राज्यवादको हातमा सुम्पनेहरूको अन्त्य कस्तो हुन्छ, सिक्किमको इतिहासले देखाएको छ। नेपालका शासकहरूको पनि त्यो दिन आउँछ।”
कोणसभामा उनले स्पष्ट सन्देश दिँदै भने, “हाम्रो चुनौती छ — एमसीसी जस्तो असमान सम्झौता नेपाली जनतामाथि जबर्जस्ती लाद्न सकिँदैन। यो राष्ट्रको सम्प्रभुता, स्वाभिमान र स्वतन्त्रतामा प्रहार हो, जसको प्रतिरोध अन्तिम क्षणसम्म हुनेछ।”
एमसीसीविरुद्ध देशव्यापी आन्दोलनको सन्देश
विप्लव नेतृत्वको नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध देशभर विरोध कार्यक्रम गर्दै आएको छ। पार्टीका अनुसार एमसीसी नेपालको भौगोलिक, आर्थिक र रणनीतिक स्वाधीनतालाई कमजोर पार्ने अमेरिकी साम्राज्यवादी परियोजना हो। यसलाई “विकासका नाममा राजनीतिक हस्तक्षेप” भन्दै अस्वीकार गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।
शुक्रबारको प्रदर्शनमा पार्टीका केन्द्रीय र स्थानीय नेताहरु, कार्यकर्ताहरु तथा समर्थकहरूको ठूलो सहभागिता थियो। प्रदर्शनकारीहरूले ‘एमसीसी खारेज गर’, ‘देश बेच्न पाइँदैन’, ‘साम्राज्यवाद मुर्दावाद’ लगायतका नारा लगाएका थिए।
माईला सीको आरोप
माईला सीले आफ्नो भाषणमा सरकार र सत्तारूढ दलका नेताहरूमाथि विदेशी स्वार्थको दलाली गरेको आरोप पनि लगाएका छन् । “सत्तामा पुग्न र टिक्नका लागि मुलुकलाई दाउमा राख्ने प्रवृत्ति खतरनाक छ। जनताले यस्तो प्रवृत्तिलाई उखालेर फ्याँक्नेछन्,” उनले भने।
उनले चेतावनीको स्वरमा थपे, “यो देशको माटो र जनताको रगत बेचेर कसैले सुख पाउँदैन। आज होइन भने भोलि, जनताको अदालतमा तपाईंहरूलाई हिसाब–किताबको घेरामा उभिनै छ उनको दाबि थियो ।”
नेकपाको अडान
विप्लव नेतृत्वको नेकपाले एमसीसीलाई पूर्णरूपमा अस्वीकार गर्दै यसविरुद्ध राजनीतिक, वैचारिक र जनस्तरको संघर्षलाई अझ व्यापक बनाउने घोषणा गरेको छ। पार्टीले यो सम्झौता खारेजी नभएसम्म आन्दोलन निरन्तर रहने स्पष्ट पारेको छ।
