News Portal

  • दोलागिरि संवाददाता२०८२ साउन २९
    ६१ पटक

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले नगरबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँगको सहकार्यमा सञ्चालित नि:शुल्क रगत वितरण कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ।

    नगरपालिकाले मंगलबार रेडक्रससँग सम्झौता नवीकरण गर्दै रगतको लागि नगरबासीसँग कुनै शुल्क नलिने व्यवस्था पुनः लागू गरेको हो। सम्झौताअनुसार नगरमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक पर्ने रगतको खर्च नगरपालिकाले नै रेडक्रसलाई भुक्तानी गर्नेछ। यसले आकस्मिक अवस्थामा रगतको अभावका कारण उपचारमा ढिलाइ हुने समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

    सूर्यविनायक नगरपालिका प्रमुख बासुदेब थापाले कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको उल्लेख गर्दै भने, “रगतको अभावका कारण कसैले पनि आफ्नो जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो। यो सेवा निरन्तरता दिन पाउँदा हामी सन्तुष्ट छौं।”

    नेपाल रेडक्रस सोसाइटी भक्तपुरका प्रतिनिधिहरुले यस सहकार्यलाई स्वागत गर्दै नगरपालिकाले उदाहरणीय सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको बताए छन । उनका अनुसार यस कार्यक्रममार्फत हरेक वर्ष सयौं बिरामीले लाभ लिने गरेका छन्।

    स्थानीय बासिन्दाहरूले पनि यो सेवाको निरन्तरतामा खुशी व्यक्त गरेका छन्। उनका अनुसार उपचारको क्रममा रगतका लागि ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता हटेपछि आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुगेको छ।

    नगरपालिकाले यसअघि पनि विभिन्न स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसमा नि:शुल्क स्वास्थ्य शिविर, नियमित रक्तदान कार्यक्रम र जनस्वास्थ्य सचेतना अभियानहरू समावेश छन्। यस वर्षको योजनामा रगत सेवा अझ व्यवस्थित र द्रुतगतिमा उपलब्ध गराउने प्रावधान पनि गरिएको बताइन्छ।

     

    प्रतिकृया दिनुहोस्