News Portal

  • मध्यपुर थिमि नगरबासीलाई निःशुल्क रगत सेवा निरन्तर

    दोलागिरि संवाददाता२०८२ साउन २७
    ७१ पटक

    मध्यपुर थिमि नगरपालिका र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाबीचको सम्झौता नवीकरणसँगै नगरबासीले अब पनि निःशुल्क रगत तथा रक्ततत्व पाउने भएका छन्।

    नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र रेडक्रस भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले सम्झौतामा हस्ताक्षर गर्दै यस सेवालाई निरन्तरता दिने सहमति जनाएका हुन्। सम्झौता अनुसार आवश्यक रगत भक्तपुर रक्तसञ्चार सेवाबाट निःशुल्क उपलब्ध गराइनेछ भने त्यसको दस्तुर नगरपालिकाले भुक्तानी गर्नेछ।

    नगरप्रमुख श्रेष्ठका अनुसार बिरामीको जीवनरक्षाका लागि रगत शुल्क तिरेर लिनुपर्ने बाध्यता हटाई सर्वसुलभ स्वास्थ्य अधिकारको रक्षा गर्ने उद्देश्यले यो पहल निरन्तर गरिएको हो।

    २०७९ साउन ४ गते पहिलो पटक भएको सम्झौताअनुसार पहिलो वर्ष ७४७ पिन्ट रगत तथा रक्ततत्व वितरण गरिँदा ७ लाख ३२ हजार ९९८ रुपैयाँ रेडक्रसलाई भुक्तानी गरिएको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतीले जानकारी दिए। आर्थिक वर्ष २०८०/८१ मा ३६१ जनाले सेवा लिएका थिए भने २०८१/८२ मा ४७९ जनाले ८१४ पिन्ट रगत तथा रक्ततत्व निःशुल्क प्राप्त गरेका थिए।

    यस सम्झौताले नगरबासीलाई आपत्कालीन अवस्थामा समेत सहज रगत पहुँच हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्