News Portal

  • भक्तपुर ईप्सनद्वारा वादविवाद प्रतियोगिता सम्पन्न, अभिषेक दुलाल र दीपशिखा भट्ट विजयी

    दोलागिरि संवाददाता२०८२ साउन २४
    १०१ पटक

    भक्तपुर, साउन २२ – एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन) भक्तपुरद्वारा आयोजित वादविवाद प्रतियोगिता सुर्यविनायक–३, बालकोटस्थित ईडेन गार्डेन इङ्ग्लिस स्कुलमा सम्पन्न भएको छ।

    छात्रतर्फ “शिक्षाको उद्देश्य प्राप्ताङ्क होइन, व्यवहारिक ज्ञान हुनुपर्छ” र छात्रातर्फ “विद्यार्थीलाई सजाय होइन, प्रोत्साहन आवश्यक छ” भन्ने विषयमा वादविवाद गरिएको थियो। ईप्सन सदस्य विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा, छात्रतर्फ क्वालिटी स्कुलका अभिषेक दुलाल र छात्रातर्फ युनिटी स्कुलकी दीपशिखा भट्ट विजयी बने।

    प्रतियोगितामा, छात्रतर्फ दोस्रो स्थान सम्राट नेपाल (सेन्ट जोन्स इङ्ग्लिस स्कुल) र तेस्रो स्थान प्रज्ज्वल वाग्ले (हिमाल एकेडेमी) ले हात पारे भने, सान्त्वना पुरस्कार रियान बनमाला (सुर्योदय सेकेन्डरी स्कुल) ले पाए।
    त्यसैगरी, छात्रातर्फ दोस्रो स्थान ईटुसा लिम्बू (सेन्ट जोन्स इङ्ग्लिस स्कुल) र तेस्रो स्थान प्रशंसा गोले (सुर्योदय सेकेन्डरी स्कुल) बने। सान्त्वना पुरस्कार प्रविधी खड्का (बिमल मेमोरियल विद्यालय) ले प्राप्त गरिन्।

    साहित्यकार तथा नेपाली छन्द साहित्यको सबैभन्दा लामो महाकाव्यका रचनाकार चन्द्र प्रसाद न्यौपाने र साहित्यकार/कवि जीवनाथ अधिकारी निर्णायकको भूमिकामा रहेका थिए।

    कार्यक्रममा ईप्सन भक्तपुरका अध्यक्ष जी.बी. खड्का र आयोजक विद्यालयका सह–प्रधानाध्यापक अनिश राई ले विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरे।


    अध्यक्ष खड्काले यस्ता प्रतियोगिताले विद्यार्थीलाई प्रेरित गर्दै भोलिका असल नागरिक तयार गर्न मद्दत पुर्‍याउने बताए। सभापति राईले ईप्सनले आयोजना गर्ने प्रतियोगितात्मक कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर दिने उल्लेख गरेका छन ।

     

    प्रतिकृया दिनुहोस्