News Portal

  • ऋतम्भरा पाठशाला तथा कलेजको अभिमुखीकरण तथा स्वागत कार्यक्रम 2082 भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ साउन २३
    ६५ पटक

    चागुनारायण, भक्तपुर । ऋतम्भरा पाठशाला तथा कलेजले 2082 सालको कक्षा ११ का नवदर्ता विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि चागुनारायण नगरपालिकाका नगरप्रमुख जिवन खत्रि हुनुहुन्थ्यो। उहाँले कार्यक्रममा सम्बोधन गर्दै नयाँ पुस्तालाई सक्षम र जिम्मेवार नागरिक बनाउनेतर्फ शिक्षक तथा शैक्षिक संस्थाको भूमिकालाई महत्वपूर्ण बताउँदै विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

    त्यसैगरी, कार्यक्रममा अन्य विशेष अतिथिहरूको पनि सहभागिता रहेको थियो, जसमा शिक्षा, युवा र सामाजिक क्षेत्रका विज्ञहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, सञ्चार माध्यम प्रतिनिधिहरू, चागुनारायण क्षेत्रका प्रतिष्ठित समाजसेवीहरू तथा जिल्ला स्तरका शैक्षिक सल्लाहकारहरूको समेत उपस्थिति थियो।

    कार्यक्रममा ऋतम्भरा कलेजका प्राचार्यले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक दर्शन, अनुशासन, आधुनिक शिक्षण प्रणाली र भविष्यका योजनाहरूको चर्चा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई “सीपमूलक, मूल्यनिष्ठ र वैज्ञानिक शिक्षामा आधारित समग्र विकास” मा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो।

    सांस्कृतिक प्रस्तुतिहरू, प्रेरणादायी भाषण, छात्रछात्राको उत्साहजनक सहभागिता र विद्यालयको समर्पित व्यवस्थापनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा वक्तृत्व, नृत्य, गीत, कविता लगायतका विधामा विद्यार्थीहरूले आ-आफ्नो प्रस्तुति दिँदा उपस्थित सबै दर्शकहरू मन्त्रमुग्ध बने।

    ऋतम्भरा पाठशाला तथा कलेज परिवारले सबै आमन्त्रित अतिथि, अभिभावक, सञ्चारकर्मी, शिक्षक-शिक्षिका, कर्मचारी र विद्यार्थीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आगामी शैक्षिक यात्रा सफल होस् भन्ने शुभकामना व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्