

भक्तपुर, साउन १७ – सत्तारूढ दल नेपाली कांग्रेसको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर सम्मेलन शनिबार सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा भक्तपुर-२ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले सामाजिक सञ्जालमार्फत देखाइने ‘विकासको प्रचार’लाई लक्ष्य गर्दै कडा प्रहार गरे।
पूर्व सांसद महेश बस्नेतलाई लक्षित गर्दै थापाले भने, “विकासको बाढी आएको भन्दै फेसबुकमा राजनीति गर्नेलाई हराएर सांसद बनेको हुँ।” उनले टेप लिएर विकासको अवस्था नाप्न चुनौतीसमेत दिँदै अघिल्लो कार्यकालभन्दा कम विकास भएको पाइएमा राजीनामा दिने उद्घोष गरे।
कार्यक्रममा सूर्यविनायक नगरपालिका कार्यसमितिका सभापति निशान ढुङ्गेलले स्थानीय निर्वाचनमा कांग्रेसले ५० प्रतिशत वडा जितेपनि प्रमुख र उपप्रमुख नजित्नाले पार्टी नीति अनुसार काम गर्न नसकिएको जनाए। उनले अबको बन्द सत्रले आगामी निर्वाचन जित्ने रणनीति तय गर्ने बताए।
उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा सहभागी भएका कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको दलगत राजनीतिमा सक्रियता अस्वीकार्य रहेको धारणा व्यक्त गरे। “संविधान संशोधन गरेर भएपनि पूर्व राष्ट्रपतिहरुलाई पार्टी राजनीतिमा आउन नदिने प्रावधान राखिनुपर्छ,” उनले स्पष्ट पारे।
सहमहामन्त्री परियारले नेपाली कांग्रेसभित्र दोहोरिने नेतृत्वको प्रवृत्तिमाथि असन्तुष्टि जनाउँदै भने, “कोही पटक–पटक मन्त्री हुन्छन्, कोही कहिल्यै हुँदैनन्। यस प्रवृत्तिको अन्त्य हुनुपर्छ।” उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने भावी मन्त्रिमण्डलमा सांसद दुर्लभ थापालाई मन्त्री बनाउन आफ्नो माग रहने पनि खुलाए। “नयाँ पुस्तालाई जिम्मेवारी नदिंदा नयाँ पार्टीहरूले हामीमाथि आक्षेप लगाइरहेका छन्,” उनले थपे।
सम्मेलनमा बागमती प्रदेशका पूर्वमन्त्री कृष्णलाल भँडेल, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, कांग्रेसका पूर्व जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर अध्यक्षहरू तथा अन्य जिल्ला नेताहरूको उपस्थिति रहेको नगर प्रवक्ता रमेश खड्काले जानकारी दिए।
