

भक्तपुर, साउन १७ – नेपालको मौलिक र सांस्कृतिक पर्वमध्ये एक, गाईजात्रा (सापारु) को तयारीमा भक्तपुर नगरपालिका सक्रिय बनेको छ। आगामी गाईजात्रा पर्व २०८२ लाई मर्यादित, व्यवस्थित र सभ्य ढंगले सम्पन्न गराउन नगरपालिकाले संस्कृतिकर्मीहरूसँग विशेष भेला आयोजना गरेको छ।
नगरप्रमुख सुनिल प्रजापतिले भेलामा बोल्दै गाईजात्रा भक्तपुरको सांस्कृतिक पहिचान र परम्परासँग जोडिएको मौलिक पर्व भएकोले यसलाई समयानुकूल व्यवस्थापन गर्न सबैको सहकार्य आवश्यक भएको बताए। उनले आधुनिक विकृतिहरूबाट पर्वलाई जोगाउँदै परम्परागत कला, संस्कृति र जनश्रद्धाको संरक्षणमा जोड दिनुपर्ने धारणा राखे।
कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्वले यस वर्षको गाईजात्रा पर्वमा प्रस्तुत गरिने विविध सांस्कृतिक विधा—नाच, हाँस्यव्यङ्ग्य, झाँकी आदिको मूल्याङ्कन गरी उत्कृष्ट प्रस्तुतिलाई पुरस्कार प्रदान गरिने जानकारी दिए।
भेलामा सहभागी संस्कृतिकर्मी, स्थानीय प्रतिनिधि र समुदायका अगुवाहरूले गाईजात्रालाई सभ्य, मर्यादित र सुसंस्कृत बनाउन सबै पक्ष मिलेर साझा पहल गर्नुपर्नेमा जोड दिए।
पर्वको मूल भावना जनशोकलाई सामूहिक अभिव्यक्तिमा रूपान्तरण गर्नु हो भन्ने कुरालाई स्मरण गराउँदै उनीहरूले परम्परागत सिर्जनात्मकता र आधुनिक चेतनाबीच सन्तुलन कायम गर्दै पर्वको गरिमा बढाउने विचार राखे।
नगरपालिकाले थप छलफल, तालिम र समन्वय कार्यक्रम गर्दै गाईजात्रा पर्वलाई सफल बनाउन कार्ययोजना अघि बढाइरहेको जनाएको छ।
