Skip

News Portal

  • पूर्वप्रधानमन्त्री दाहालको आलोचनामा प्रधानमन्त्री ओलीको जवाफ: काम भइरहेछ, हेर्नुस्

    दोलागिरि संवाददाता२०८२ आषाढ ३०
    ३९ पटक

    काठमाडौं, असार ३०
    पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिटको अभावप्रति प्रश्न उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कडा जवाफ दिएका छन्।

    प्रचण्डले कीर्तिपुर मैदानको अधुरो अवस्थालाई उदाहरण दिँदै सरकारको कार्यप्रणालीमाथि प्रश्न उठाएका थिए। तर प्रधानमन्त्री ओलीले त्यसलाई ‘अवस्थित यथार्थ नबुझी गरिएको आलोचना’को रूपमा लिएका छन्।

    “पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न उठाउनुभयो– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट? खोई प्यारापिट?” ओलीले भने, “म उहाँलाई आग्रह गर्न चाहन्छु— कृपया बनिरहेको प्यारापिट हेर्न जानुहोस्, जडान हुँदै गरेका फ्लडलाइटका पोल हेर्न जानुहोस्। काम भइरहेको छ।”

    ओलीले आफू प्रधानमन्त्री हुँदाको समय सम्झँदै प्रचण्डमाथि व्यंग्य कसे, “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन, न तपाईंले केही गर्नु पर्‍यो, न गर्नुभो। सरकारको कामबारे तथ्यांक राखेर जवाफ दिनुपर्ने चलन पनि थिएन।”

    प्रधानमन्त्री ओलीले आफूले भनेको काम समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको दाबी गरे। “मैले त दिन तोकेर गर्छु भनेको छु, आफैंमाथि प्रश्न आह्वान गरेको छु र काम पनि गरिरहेको छु”, उनले भने।

    आर्थिक सुधारका सन्दर्भमा समेत ओलीले दाहाल नेतृत्वको पालामा अर्थतन्त्र ‘जर्जर’ अवस्थामा रहेको आरोप लगाउँदै वर्तमान अवस्थामा सुधार भइरहेको उल्लेख गरे। “तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुगेको छ, तथ्यांक हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु”, प्रधानमन्त्री ओलीले टिप्पणी गरे।

    राजनीतिक दलहरूबीचको यो भनाभनले हालको सत्ता र विपक्षी सम्बन्धमा चर्को तिक्तता देखाएको छ। पूर्व र वर्तमान प्रधानमन्त्रीहरूबीच सार्वजनिक रूपमा यस्ता आरोप-प्रत्यारोप हुनु सामान्य जस्तै भए पनि, यो विवाद अब कीर्तिपुरको प्यारापिट र फ्लडलाइटबाट अर्थतन्त्रसम्म फैलिएको छ ।

    प्रतिकृया दिनुहोस्