

काठमाडौँ, असार २६
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ६३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सभाले विभिन्न संकाय तथा तहका ८९ हजार १९१ जना विद्यार्थीको ग्रेस लिष्ट (उत्तीर्णको सूची) पारित गरेको छ।
सभाको अध्यक्षता त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो। बैठकमा त्रिविका रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले प्रस्तुत गर्नुभएको ग्रेस लिष्ट सर्वसम्मतिले स्वीकृत गरिएको हो।
यसै अवसरमा आर्थिक वर्ष २०८२/८३ का लागि त्रिविको बजेट तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। प्रस्तुत बजेट तथा कार्यक्रमले त्रिविलाई गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रियकरणतर्फ अघि बढाउने लक्ष्य राखेको छ।
प्रधानमन्त्री ओलीले त्रिविलाई २१ औँ शताब्दीको प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालय शिक्षाले देश विकासमा निर्णायक योगदान दिने भएकाले यसको शैक्षिक तथा प्रशासनिक क्षमतामा निरन्तर सुधार आवश्यक रहेको बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा त्रिविका सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न विश्वविद्यालयले उत्प्रेरकको भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
हालै नियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले त्रिविमा कम्तीमा एक प्रतिशत विदेशी विद्यार्थी भर्ना गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो। उहाँले त्रिविको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न अनुसन्धन, साझेदारी र आन्तरिक सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।
साधारणसभाले त्रिविका शैक्षिक, प्रशासनिक तथा आर्थिक कार्यसम्पादनलाई अझ प्रभावकारी र पारदर्शी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
